काठमाडौं
विभिन्न सामाजिक संजालमध्ये पनि लोकप्रिय टिकटकमा गलत सामग्री पोष्ट नर्गन गृहमन्त्रालयले विज्ञप्ति मार्फत सचेत बनाएको छ ।
शुक्रबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रालय, संचार तथा सुचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तराष्ट्रिय प्रतिनिधिहरुबीच छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।
शनिबार जारी गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरीत विपप्तिमा भनिएको छ ः मर्यादित र कानुन सम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्याउँछ । सामाजिक सञ्जालमा संप्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकुल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्दछन् ।
सामाजिक संजालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन दोषीउपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरी साइवर व्यूरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुर बीच सहकार्य बढाउने उद्देश्यले उक्त बैठक आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त बैठकबाट टिकटकमार्फत सामाजिक सदभाव विगार्ने,घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने जातीय, धार्मिक, सामाजिक सदभाव विगार्ने र अश्लिल खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन सहज हुने भनिएको छ ।
अतः जिम्मेवार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्रीमात्र प्रकाशन, प्रशारणगरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न समेत विप्तिमार्फत मन्त्रालयले अनुरोध गरेको छ ।