पनौती
सचितिर्थ त्रिवेणी गुरुकुल पनौतीको भौतिक पूर्वाधार निर्माणको उद्देश्य सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
पितृमोक्ष, धर्मसंस्कार र संस्कृतिको संरक्षण तथा गुरुकुलको भौतिक निर्माणमा सहयोगको उद्देश्य सहित सप्ताहको आयोजना गरिएको हो । आयोजित महायज्ञको पहिलो दिन कलशयात्रा गरिएको छ । पनौतीको प्रसिद्ध इन्द्रेश्वर मन्दिरबाट शुरु भएको कलशयात्रा त्रिवेणी घाटमा कलशमा जल भरी बजार तथा मानेश्वरी मन्दिर परिक्रमका पछि महायज्ञस्थल इन्द्रेश्वर मन्दिरमा पुगेर टुङ्गिएको थियो ।
महायज्ञ उद्घाटन सत्र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । महायज्ञ सभामा बोल्दै गौतमले मस्तिष्कमा असल चेतको विकासबाट मात्रै देश विकास सम्भव भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरपालिका प्रम्ुख रामशरण भण्डारीले वैदिक तथा पूर्वीय सनातन धर्मका संस्कारहरु लोप हुन लागेको बताउँदै गुरुकुलले त्यसको संरक्षण गर्ने बताए । साथै भण्डारीले सबै धर्मप्रति उत्तिकै सम्मान रहेको भन्दै नगरमा बौद्धधर्मसँग सम्बन्धि शिक्षालय संचालन गर्ने बताए ।
पनौती वडा नं ६का वडाअध्यक्ष भीम प्रसाद आचार्यले गुरुकुल वडा अनि नगरको गर्व गर्न लायक स्थलको रुपमा रहेको बताए ।
महयज्ञ व्यवस्थित रुपमा संचालन गर्नका लागि विभिन्न उपसमितिहरु निमार्ण गरिएको आयोजकले जनाएको छ । सचिवालय प्रमुख बस्नेतका अनुसार आर्थिक संयोजक राजन दाहाल, पूजा व्यवस्थापन संयोजक शैलेन्द्र सुवेदी र उपसंयोजक मोहन कुुमार बस्नेत, आर्थिक समन्वय समिति भीम बञ्जारा, खरिद सचिवालय संयोजक हेमराज हुमागाई साउन्ड सिस्टम कृदेश भण्डारी यातायात व्यवस्थापन तर्फ सुरेन्द्र श्रेष्ठ, सौगत बस्नेत र जंग जंगम रहेका छन् ।
सप्ताह कार्यक्रम पनौती नगरपालिका वडा नं ७ स्थित इन्द्रेश्वर मन्दिर परिसरमा भइरहेको छ ।
महायज्ञ मुल आयोजक समितिका सचिवालय प्रमुख रामकुमार बस्नेतका अनुसार कलशयात्राकै अवधि सम्ममा विभिन्न दाताहरुबाट २१ लाख रुपैंया संकलन भइसकेको छ । महायज्ञमा मूल कथावाचक युवा पण्डित अच्युत भट्टराई तथा सहायक कथावाचाकका रुपमा श्याम धिताल रहेका छन् ।
ज्ञान महायज्ञमा सम्पुर्ण भक्तजनहरुलाई उपस्थित भएर कथा श्रवण तथा सहयोगको लागि आयोजकले सादार निमन्त्रणा गरेको छ ।