
बनेपा – नेपाल शिक्षक संघ काभ्रेको २४औँ जिल्ला प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ।
बनेपामा आयोजित उक्त कार्यक्रम जिल्ला अध्यक्ष शम्भु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो। सभामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरू क्षेत्र नं. १ का गुणराज मुक्तान र क्षेत्र नं. २ का मधु प्रसाद आचार्य लगायत शिक्षक तथा शुभेच्छुक नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि उम्मेदवार मधु प्रसाद आचार्यले शिक्षकले बालबालिकामा ज्ञान प्रवाह गर्नुका साथै समाजमा सकारात्मक चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले करिब आठ दशकअघि स्थापना भएको कांग्रेस गत माघ २ गतेदेखि हस्तान्तरण, रूपान्तरण तथा पुस्तान्तरणको चरणमा प्रवेश गरी नयाँ ढंगले अगाडि बढेको उल्लेख गरे। सुधारको आवश्यकताअनुसार भदौ २३ र २४गतेको आन्दोलन भएको र जस अनुरुप नेपाली काँग्रेसमा पनि नयाँ अभियानको सुरुवात गरिएको बताए । अनुभव र योगदानका आधारमा विश्वास गर्न योग्य दलका रुपमा चुनावी मैदानमा उत्रिएको धारणा राखे।
प्रमुख अतिथि उम्मेदवार मधु प्रसाद आचार्यलेआठ दशकअघि स्थापना भएको कांग्रेस गत माघ २ गतेदेखि हस्तान्तरण, रूपान्तरण तथा पुस्तान्तरणको चरणमा प्रवेश गरी नयाँ ढंगले अगाडि बढेको उल्लेख गरे।
यसैगरी, क्षेत्र नं. १ का उम्मेदवार गुणराज मुक्तानले कार्यक्रम सफलताको कामना गर्दै वर्तमान समयमा पनि समाजमा शिक्षकको स्थान र भूमिका कमजोर नभएको बताए। समाज रूपान्तरणमा शिक्षकको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै आफू शिक्षक प्रतिनिधिका रूपमा नै टिकट प्राप्त गरेको र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे।
शिक्षक नेता नारायण तिमल्सिनाले शिक्षक आन्दोलन तथा तत्कालीन पदासीन नेतृत्वको व्यवहारबारे चर्चा गर्दै शिक्षकको हक–हित विपरीत उभिएका नेताहरू अहिले उम्मेदवारका रूपमा नदेखिएको बताए। उनले नेपाली कांग्रेसको घोषणापत्रमा शिक्षा र शिक्षकका मुद्दा समेटिने विश्वास व्यक्त गर्दै शिक्षामा आमूल परिवर्तन र शिक्षक पेशाको हक–हित संरक्षण आगामी सरकारको मुख्य दायित्व हुने धारणा राखे।
कार्यक्रममा कांग्रेस काभ्रे क्षेत्र नं. १ का सभापति दिनेश लामा, कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईं, जिल्ला सचिव माधव ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
