काठमाडौं
निर्वाचन आयोगले विदेशमा रहेकाहरुको मतदाता नामावली दर्ता तथा अध्यावधिक गराउने तयारी गरेको छ । यसका लागि आयोगले विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्न कार्यविधि निर्माण गरी मसौदामा सुझाव मागेको छ ।
कार्यविधि तयार गरी निर्वाचन आयोगले वेवसाइटमा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि २०८० कोमसौदा अपलोड गरेको जनाएको छ ।
साथै आयोगले उक्त मसौदामा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।
त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणाली मार्फत फारम भरी जैविक( बायोमेट्रिक) विवरण दिनका लागि आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्ने उल्लेख छ । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मसौदामा उल्लेख छ ।
मसौदामा रहेका उक्त व्यवस्था लगायतका अन्य विषयहरु थप परिमार्जन वा सुधारका लागि लागि आयोगले सुझाव मागेको हो । आयोगले www.election.gov.npमा राखिएको मसौदा अध्ययन गरी [email protected]मा राय सझाव उपलब्ध गराउन भनेको छ ।