काठमाडौं
मंसिर १ गते कफी दिवसका दिन सरकारले चालु आर्थिक वर्षका लागि कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ ।
काँचो कफीको न्यूनतम् समर्थन मूल्य तोकेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार कृषक स्तरबाट उत्पादन हुन सक्ने फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी तिनै अवस्थाको कफीको मूल्य तोकेको छ ।
बोर्डका अनुसार टिप्दाटिप्दैको फ्रेस चेरी ग्रेड विभाजन गरी न्यूनतम् मूल्य ग्रेड ‘ए’ को १ सय र ग्रेड ‘बि’ को नब्बे रुपैंया तोकेको छ । जसमा ८ सय मिटर भन्दा माथि प्राङ्गारिक पद्दति अनुसार उत्पादित ठिक्क पाकेको र पानीमा राख्दा नडुब्नेलाई ग्रेड ‘ए’ र उक्त मापदण्ड नपुगेकालाई ग्रेड ‘बि’ मानेको छ ।
त्यसैगरी पार्चमेन्ट कफीको ग्रेड ‘ए’ को ५ सय र ग्रेड ‘बि’ को ४ सय ५० तोकेको छ । चिसो प्रसोधन विधि अन्तर्गत प्रसोधन गरि तयार परिएको, ११ प्रतिशत चिस्यान भएको ग्रेड ‘ए’ र उक्त मापदण्ड नपुगेको ग्रेड ‘बि’ भनेको छ । फ्रेस चेरीलाई पल्पिङ पश्चात फर्मन्टेसन गरि सुकाएर तयार पारिएको अवस्था पार्चमेन्ट हो ।
त्यस्तै, ड्राइ चेरी कफी ‘ए’ ग्रेडको प्रतिकिलो दुई सय रूपैयाँ तोकिएको छ भने ‘बी’ ग्रेडको एक सय ५० रूपैयाँ तोकिएको छ । चिसो प्रविधिबाट प्रशोधन गर्न नसकिएको अवस्थामा घाममा सुकाएर ११ प्रतिशत चिस्यान कायम रहेको कफीका लागि यो समर्थन मूल्य तोकिएको उल्लेख छ । यसका लागि भने फ्रेसचेरी ग्रेड ‘ए’ बाट उत्पादन भएकालाई ग्रेड ‘ए’ र फ्रेसचेरी ग्रेड ‘बि’ बाट उत्पादन भएकालाई ग्रेड ‘बि’ भनिएको छ । उक्त मूल्य आजबाट नै लागु हुने छ ।
नेपालका ४० बढि जिल्लामा पाइने कफी पश्चिम तथा मध्य क्षेत्रका १२ भन्दा बढि पहाडी जिल्लामा खेति गरिँदै आएको छ । नेपालमा सबैभन्दा बढि कफी काभ्रेपलाञ्चोकमा उत्पादन हुने तथ्यांक छ । अराबिका जातको कफी आर्गनिक पद्धति अनुसार खेति गर्दै आएका कृषकको उत्पादन जापान अमेरिका लगायत युरोपका विभिन्न मूलुकमा निर्यात हुने गरेको छ । नेपालमा हरेक वर्ष मंसिर १ गते कफी दिवस मनाउने गरिन्छ । यस वर्ष ‘कफी क्षेत्रको प्रवद्र्धन र संरक्षण, दीगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मुल नाराको साथ १९ औं राष्ट्रिय कफी दिवस विभिन्न जिल्लाहरुमा मनाइएको छ ।