भकुण्डेवेशी
पालिकामा सम्पन्न कार्यक्रम र योजनाको प्रगतिका विषयमा जानकारी गराउने र राय सुझाव लिने उद्देश्य सहित नमोबुद्ध नगरपालिकाले सार्वजानिक सुनुवाई आयोजना गरेको छ ।
नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा भएका गरेका कार्य तथा आर्थिक बर्ष २०८०÷८१ का लागि स्वीकृत बार्षिक नगर विकास योजना (नीति, कार्यक्रम, बजेट) लगायतका नगरपालिकाबाट हुने सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो ।
बिहिबार नगरपालिकाको कार्यालयमा नगरवासी, कृयाशिल राजनीतिक दल, सामाजिक संघ संस्था, सरोकारवाला र सेवाग्राहीहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई गरिएको थियो l
कार्यक्रममा योजना अधिकृत विष्णुकुमार अधिकारीले आर्थिक बर्ष २०७९÷८० चालु आर्थिक बर्षको प्रथम त्रैमासिक अवधीको को प्रगति प्रतिवेदनका साथै कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
सहभागीहरुले उपभोक्ता समितिको क्षेत्राधिकार, शिक्षा क्षेत्रमा भएको अनियमितता, कर्मचारी व्यवस्थापन, विकास योजनामा सूचना पाटी नभएको, निशुल्क औषधीको दुरुपयोग, करको दर र दायरा, अव्यवस्थित बसोबासी, सुकुम्बासीको व्यवस्थापन समस्या जस्ता विषयका गुनासो, सुझाव र जिज्ञासा राखेका थिए ।
नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जिज्ञासा र गुनासो सम्बोधन गरेका थिए ।
नगर प्रमुख कुनसाङ लामाले २०७९ जेठ ११ गते पदभार गरेदेखि नगरवासीको हितको लागि विभिन्न कार्यहरु गरेको जानकारी गराउँदै चुनावको बेला जनताको घरदैलोमा पुगेर गरेको प्रतिवद्धता पुरा गर्दै लगेको जानकारी दिए । उनले विकासको लागि प्रदेश र संघ सरकारसंग समन्वय गरिरहेको भन्दै सिमित श्रोतका कारण विकासका असिमित चाहना पुरा गर्न नसकिएको बताए ।
नगरबाट प्रदान गरिने सेवाका विषयमा जनप्रतिनिधिबाट होस या कर्मचारीबाट शून्य सहनशिलाताको नीति लिएर सेवा प्रदान गर्ने उनको भनाई थियो । सर्वसाधरणले पनि पालिकाबाट प्राप्त गर्ने सेवालाई सहित ढंगले उपयोग गर्नुपर्ने उनले बताए ।
नगर उपप्रमुख रत्नबहादुर लामाले अनुमगनको जिम्मेवारी आफूलाई हुने भन्दै आफ्नो कार्यकालमा कुनै पनि कैफियत हुन नदिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमले सुशासन र पारदर्शितामा जोड दिने भन्दै यसको महत्वबारे जानकारी दिए ।