पनौती । साविक मल्पी गाविसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लिलाबहादुर के.सी उनकी बुहारी तुलसा के.सी (खुबकुमारी) को स्मृतिमा परिवारले विविध कार्यक्रम गरेको छ ।
पनौती स्थित इन्द्रेश्वर मन्दिरमा दिपप्रज्वलनसँगै माइती बृद्धाश्रममा रहेका जेष्ठनागरिकलाई बिहानी खाना खुवाइएको छ । स्वर्गीय के.सीका छोराहरु राजु के.सी तथा प्रदिप के.सी दम्पतीले उक्त कार्य गरेका हुन् । विहीबार बिहान मन्दिरमा दिप प्रज्वलन पछि पनौतीमा रहेको बृद्धा आश्रममा रहेका जेष्ठ नागरिकका लागि बिहानी खाना खुवाइएको हो के.सीका जेष्ठ सुपुत्र प्रदिप केसीले जानकारी दिए ।
यसै गरी स्वर्गीय लिलाबहादुर के.सीद्वारा स्थापित पनौती ८ मा रहेको भालेश्वर मा.विमा तुलसा के.सीको स्मृतिमा केसी परिवारले छात्राबृत्ति अक्षय कोष स्थापनाको घोषणा गरेको छ । कोषबाट उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने १/१ जनाका दरले कुल १० जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्राबृत्ति प्रदान गरिने बताइएको छ ।
केही दिन भित्रमा विद्यालयमा औपचारिक कार्यक्रम गरि कोषको आवश्यक सम्झौता सहित स्थापना हुने के.सीका अर्का सुपुत्र राजु के.सी (बञ्जारा)ले बताए ।