पनौती
पनौतीकै पहिलो निजीस्तरबाट संचालित सूर्योदय माध्यमिक बोर्डिङ स्कुलले स्थापनाको ४० औं वर्ष पुरा गरेको छ । विद्यालयले ४० औं वार्षिकोत्सवको अवसरमा एसइइ सम्मान , पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्यो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा २०७९ सालमा एस इ इ परीक्षामा उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीहरूलाई फूलमाला, टीका, मायाको चिनो दिएर सम्मान गरिएको थियो । कार्यक्रममा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले सरल जहिले पनि राम्रो हुने बिचार व्यक्त गरे । एस एल सी र एसईईमा उत्कृष्ट नतिजा ल्याउँदा पनि कतै उत्ताउलोपन नदेखिएको उनको विचार थियो ।
कार्यक्रमका विशिष्ट अतिथि पनौती नगरका उपप्रमुख गीता बन्जाराले गुणात्मक शिक्षाका लागि सूर्यादय माध्यमिक बोर्डिङ स्कुलको प्रतिद्धता र सोही अनुसारको कामले नगरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुगेको बताए । बिधालयका प्रीन्सिपल सूर्यप्रसाद लाकोजूले अंग्रेजी माध्यममा पढाइने स्कुल विदेशी संस्कार सिकाउने थलो बन्न नहुने विचार व्यक्त गरे ।
त्यस्तै नगरको शैक्षिक स्तर बिकास गर्न सूर्योदयको भूमिका उल्लेखनीय रहेको विचार पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकारको थियो ।
सोही कार्यक्रममा डा बिप्लब अधिकारी , बिद्यार्थीहरू गरिमा लामा, बिनिता लामा, पूर्व बिद्यार्थी असुमा सैजू लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा पारेर विद्यालयले निःशुल्क दन्त शिविर समेत संचालन गरिएको थियो ।