कुन्ताबेशी/मण्डनदेउपुर नगरपालिकाले चिटिक्कको प्रशासकीय भवन बनाएको छ । निर्माण सम्पन्न गरी कार्य शुभारम्भ गरेको भवनको राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उद्घाटन गरेका छन् ।
मण्डनदेउपुर नगरपालिकाले दिएको जानकारी अनुसार २०७५ साल पुस २७ गते बसेको नगरकार्यपालिकाको बैठकले वडा नं. ७ मनमती डाँडामा प्रशासकीय भवन निर्माण गर्ने निणर्य भएको गरेको थियो । त्यस कार्य योजना अनुसार, भवन निर्माण सम्पन्न भएको हो ।
भवन निर्माणको काम सकिए पछि राष्ट्रपति द्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । नयाँ बनेको भवनको ६६ वटा कोठा, दुईवटा हल, प्रत्येक तल्लामा अपांगमैत्री शौचालय र लिफ्टसहितको भवन तयार भएको बताइएको छ । नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनबाट गत असोज ३ गते संविधान दिवसको दिनदेखि सेवा सञ्चालन भएको थियो । राष्ट्रपति पौडेलले नवनिर्मित प्रशासकीय भवन, नगरपालिकाको नवनिर्मित भवन साथै हेलिप्याड एकै दिन उद्घाटन गरेका थिए ।
नगरप्रमुख टोकबहादुर वाइबाले अपांगमैत्री, महिलामैत्री र वृद्धवृद्धामैत्री प्रशासकीय भवन निर्माण भएकोमा सबै नगरबासी खुसी भएको बताए । पहिलो कार्यकालमै भवन निर्माण सक्ने चाहना भए पनि कोरोना र आर्थिक मन्दीले गर्दा समयमै काम सम्पन्न गर्न नसकेको र अहिले सम्पन्न गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
उपमेयर बिष्णुमणी नेपालका अनुसार नगरकार्यपालिकाको बैठकले प्रतिआना ५० हजारका दरले १८ रोपनी तीन पैसा तीन दाम जग्गा खरिद गरी भवन बनाइएको हो । जग्गा अपुग भएपछि ०७७ साल जेठ २६ गते नगरकार्यपालिकाको बैठकबाट प्रतिआना ७० हजारका दरले सात रोपनी दुई आना तीन पैसा तीन दाम थप गरी भवन निर्माण सुरु गरिएको थियो ।
हाल नगरपालिकाको नाममा २९ रोपनी जग्गा रहेको समेत उनले बताए । सो जग्गामध्ये २५ रोपनी एक आना तीन पैसा दुई दाम जग्गा दुई करोड २८ लाख ४२ हजार आठ सयमा खरिद भएको समेत बताए । भवन निर्माणका लागि ४३ करोड ६१ लाख ५२ हजार सात सय आठमध्ये मुख्य प्रशासनिक भवन र नगर सभा हल निर्माणका लागि २४ करोड ८० लाख ५२ हजार चार सय ५९ लागत अनुसार काम सम्पन्न भएको प्रवत्ता पुरुषोतम बजगाईले बताए ।
बोलपत्रमार्फत बिकोई जयमाता जेभीसँग १४ करोड २२ लाख ९४ हजार नौ सय ४२ मा ठेक्का सम्झौता अनुसार नै भवन निर्माण सम्पन्न भएको हो । ०७७ साल पुस १० गते निर्माण कम्पनीसँग सम्झौता भई ०७९ पुस १७ गते कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । कोरोना र आर्थिक मन्दीले काम सम्पन्न हुन नसकी ०८० पुस मसान्तसम्ममा काम सक्ने गरी म्याद थप गरी एक करोड ९६ लाख ८४ हजार ६६ लागत थप गरी १६ करोड १९ लाख ७९ हजारमा भवन निर्माण सम्पन्न गरेको बजगाईंले जानकारी दिए ।
भवन निर्माणको लागि संघीय समपुरकबाट एक करोड ८० लाख, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकबाट दुई करोड, संघीय अनुदानबाट दुई करोड ४० लाख र अन्य नगरपालिकाले व्यवस्था गरेको बताइएको छ ।
राष्ट्रपतिले गर्नुभएको सम्बोधनको पुणर् पाठ
समारोहका सभापति एवम् नगरप्रमुख
उपस्थित महिला तथा सज्जन वृन्द !
मण्डनदेउपुर नगरपालिकाको सातौ स्थापना दिवसका अवसरमा म यहाँका जनप्रतिनिधिहरू, कर्मचारी वर्ग र सम्पूणर् नगरवासीमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । संघीय राजधानी काठमाण्डौबाट नजिकैको पर्यटकीय क्षेत्र नगरकोटदेखि पवित्र ईन्द्रावती नदीसम्म फैलिएको सुन्दर नगरी मण्डनदेउपुर नगरपालिका आइपुग्दा मलाई हर्षानुभूति भएको छ ।
हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं । आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढि निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु ।
राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेकाबेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा म नगरप्रमुखसहितका जनप्रतिनिधि र नगरवासीलाई बधाई दिन चाहन्छु ।
उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने संभावना छ । यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुशी लागेको छ । यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु ।
कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो । त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ । स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ । हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ । त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुनेछ भन्नेक मैले ठानेको छु ।
विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्ने तथा जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन्छ ।
मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पुर्याईएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य हुन्छ । यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पुर्याई शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय छ ।
मिलेको भूगोल, लेकवेसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दुरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यसले उपायोग गर्नेनै छ ।
अन्त्यमा, संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न नगरपालिका सफल रहोस् भन्ने कामना गर्दै मन्तब्य यहीँ टुंग्याउछु ।
यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वडा नं. ११ को वल्थलीस्थित लडकेश्वरमा आयोजित कोटीहोममा पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गर्नुभयो । ओमकार फाउण्डेशनले सो कोटीहोम आयोजना गरिएको जनाइएको छ । यस्तो पूण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै उहाँले यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्नुभयो । यसप्रकारको कार्यक्रम आयाजना गरेकोमा उहाँले आयोजकको सराहना पनि गर्नुभयो । राष्ट्रपति पौड़ेललाइ नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, पनौती नगर प्रमुख रामशरण भण्डारी तथा अन्य नेताहरुले स्वागत गरेका थिए ।