पनौती
कोरियाली लगानीकर्ताहरूको टोलीले पनौती नगरपालिकामा लगानीको सम्भावना अध्ययन गरेको छ । नेपाल–कोरिया इन्टरनेशनल एक्सचेञ्ज एसोसिएसन (KNIEA) को संयोजन र कोशी प्रदेशको निमन्त्रणामा नेपाल आएको अध्ययन टोलीले बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा लगानीको सम्भाव्यता अध्ययन गरिरहेको छ ।
पनौती नगरपालिकामा नगरप्रमुख रामशरण भण्डारीसँगको भेटमा कोरियाली अध्ययन टोलीले पनौतीको विकासमा चासो देखाएका हुन् । उनीहरूले पनौती, धुलिखेल, नमोबुद्ध र काठमाडौं विश्वविद्यालयमा लगानीको सम्भावना अध्ययन गर्ने बताएका छन्।
KNIEA का नेपाल प्रतिनिधि प्रदीप घिमिरेका अनुसार, यसअघि यो टोलीले उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा लगानी बोर्डमा भेटघाट गरी परियोजनाबारे विस्तृत जानकारी लिएको थियो। यतिखेर KNIEA कि अध्यक्ष सृजना नेपालीको नेतृत्वमा ११ जनाको टोली नेपालमा लगानीको सम्भावना अध्ययन गरिरहेको छ।
नगरप्रमुख भण्डारीले पनौतीमा खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक विकासलगायत क्षेत्रमा लगानी गर्न सकिने बताए। उनले असोज १०–१२ मा आएको बाढी–पहिरोबाट प्रभावितहरूको सहयोग र पनौतीको समग्र विकासमा हातेमालो गर्न पनि कोरियाली लगानीकर्तालाई आग्रह गरेका थिए ।
“पनौतीको विकासमा कोरियाली लगानीकर्ताहरूको चासोले हामी उत्साहित छौं,” नगरप्रमुख भण्डारीले भने, “हामी उहाँहरूसँग सहकार्य गरेर पनौतीलाई समृद्ध बनाउन चाहन्छौं।” उनले पनौती र कोरियाको कुनै एक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न पनि आग्रह गरे।
कोरियाली लगानीकर्ताहरूले पनौतीको विकासका लागि लगानी गर्ने आश्वासन दिएका छन्। उनीहरूले पनौतीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाबाट प्रभावित भएको बताएका छन्।
“हामी पनौतीको विकासमा योगदान दिन चाहन्छौं,” एक कोरियाली लगानीकर्ताले भने, “हामी यहाँको सम्भावना देखेर उत्साहित छौं।”