काभ्रेपलाञ्चोक/ लागुपदार्थ सेवन गरी सवारी चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बनेपाको साँगामा शुक्रबार गरेको चेकजाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलको सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण एवं रोकथामका लागि सञ्चालित चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाक प्रहरी कार्यालय बनेपा पठाईएको जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए । चेकजाँचका क्रममा टिपर र सार्वजनिक सवारी चलाउने चालकले समेत लापसे गरेको पाइएको छ ।
पक्राउ पर्नेमा प्रदेश १–०२–००१ ज ४४१७ नम्बरको ईभी गाडीका चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ०६ का राज थापा, प्रदेश ३–००१ क ६२९१ नम्बरको टिपर चालक जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का गोबिन्द गिरी र प्रदेश ३–००१ क ६२९१ नम्बरको टिपरका सहचालक निज चालककै साथी जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपलिका वडा नम्बर ०६ का बुद्धराम खड्गी रहेका छन् ।
