
काभ्रे
बाँकेको बैजनाथ गाउँपालिका–१, नौबस्तास्थित बालसुधार गृहमा भएको भीषण झडपमा पाँच बन्दीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार मृतकमध्ये दैलेखका भूपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।
मंगलबार राति बन्दीहरूले सामूहिक रुपमा भाग्ने प्रयास गरेपछि सुधारगृहमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो। सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप भई घटनाले भयावह रूप लिएको हो।
घटनामा घाइते भएका युवालाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा पाँचजनाले ज्यान गुमाएको र दुईजनाको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
सुधारगृहका केही बन्दी भाग्न सफल भएका छन् भने केही अझै भित्रै रहेका छन्। घटनापछि सुधारगृह परिसरदेखि भेरी अस्पताल क्षेत्रसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ।
