
ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको गिम्दीस्थित कटुवा बेसिमा भगवान पशुपतिनाथको मन्दिर पुनः निर्माण गरिएको छ।
बिगतमा बागमती खोलाको भीषण बाढीले बगाएको मन्दिर आज पुनः उभिनुमा गिम्दी प्रवासी युवा समाजको अथक प्रयास र विदेशमा रहेका युवाहरूको समर्पण प्रमुख कारण बनेको छ। बाढीले संस्कृतिको प्रतीक मन्दिर नष्ट गरेपछि युवाहरूको मनमा एउटा संकल्प पलायो आफ्नो आस्था, संस्कृति र पहिचान मेटिनु हुँदैन। यही संकल्पले पुनर्निर्माणको अभियानलाई जन्म दियो र बिस्तारै गाउँभर नयाँ उत्साह र एकताको भावना फैलियो।
गिम्दी प्रवासी युवा समाजले सन् २०१९ अर्थात् वि.सं. २०७६ साल असार महिनादेखि सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संस्थाले छोटो समयमै गिम्दीको विकासमा उल्लेखनीय योगदान दिएको छ। कहिले बिरामीका लागि एम्बुलेन्स खरिद गरेर, कहिले मृगौला पीडित र आगलागी प्रभावितका लागि सहयोग गरेर, कहिले कोरोना महामारीका बेला स्वास्थ्य सामाग्री वितरण गरेर समाजले निरन्तर सामाजिक उत्तरदायित्व वहन गरेको छ। यही हातहरूले अहिले बाढीले ढालेको मन्दिर पुनः निर्माण गरेका छन्, जसमा आस्था, संस्कार र संवेदनाको साँचो मिश्रण देखिन्छ।
पशुपतिनाथ मन्दिर पुनर्निर्माण अभियान २०८१ साल असार १ गतेबाट औपचारिक रूपमा सुरु गरिएको हो। मन्दिर निर्माणका लागि स्वर्गीय आमा मिनकुमारी चौरेलको सम्झनामा बुबा बुद्धि कृष्ण चौरेलको सहमतिमा बिनोद चौरेलले जग्गा दान गरेका छन् भने झन्झ नारायण दाहालले पनि भूमि सहयोग गरेका छन्। मन्दिर पुनर्निर्माणमा बागमती गाउँपालिकाले तीन लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। त्यस्तै, हाइड्रोपावर कम्पनीले २२ हजार रुपैयाँ बराबरको गिट्टी सहयोग गरेको छ भने स्थानीय नागरिकहरूले आफ्नै आम्दानीबाट तीन लाख छेसट्ठी हजार छत्तीस रुपैयाँ संकलन गरेका छन्। हालसम्म जम्मा उठेको रकम ११ लाख दुई हजार छसय सोह्र रुपैयाँ पुगेको छ र सो मध्ये नौ लाख चौध हजार चार सय पाँच रुपैयाँ खर्च भइसकेको संयोजक कृष्ण बहादुर जर्घा मगरले जानकारी दिएका छन्। बाँकी रकम र हिसाब–किताब समाजले पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ।
गिम्दी प्रवासी युवा समाजले हालसम्म १८ वटा सामाजिक अभियान सञ्चालन गरिसकेको छ, जसमा एम्बुलेन्स खरिद, पशुपति मन्दिर पुनर्निर्माण र नारायण डाँडामा नारायण मन्दिर निर्माण प्रमुख उपलब्धिका रूपमा रहेका छन्। यी सबै अभियानले गिम्दीलाई केवल भौतिक रूपमा मात्र होइन, मानसिक र सांस्कृतिक रूपमा पनि नयाँ उचाइमा पुर्याएको छ।
हाल मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ। रंगरोगन र कम्पाउण्ड निर्माणको काम जारी छ र आगामी मंसिर २ गते मन्दिरको भव्य उद्घाटन गर्ने तयारी भइरहेको छ। सोही दिन मन्दिर परिसरमा परम्परागत पशुपति जात्राको आयोजना गरिनेछ, जसले गाउँमा धार्मिक उत्सवको माहोल ल्याउनेछ। त्यो दिन केवल मन्दिरको उद्घाटन मात्र हुनेछैन, गिम्दीका प्रवासी युवाहरूको एकता, आस्था र समर्पणको उत्सव पनि मनाइनेछ।
गिम्दी प्रवासी युवा समाजको यो यात्रा केवल सहयोगको कथा होइन, परिवर्तनको दस्तावेज बनिसकेको छ। जब गाउँमा कसैलाई पीडा पर्छ, जब बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ हुन्छ, जब प्राकृतिक प्रकोपले क्षति पुर्याउँछ, त्यतिबेला सधैं यही समाजका हात अगाडि सर्छन्। जापानमा रहेका गिम्दी निवासी चन्द्र पाण्डे भन्छन्, “हामी विदेशमा भए पनि हाम्रो गाउँ बनाउने जिम्मेवारी हाम्रो नै हो।” संयोजक कृष्ण बहादुर जर्घा मगर पनि जोड दिन्छन्, “हामीले पसिनाको कमाइलाई समाजको माटोमा मिसाएका हौं। हाम्रो सपना गिम्दीलाई आदर्श गाउँ बनाउने हो।”
विदेशमा रहेर पनि आफ्नो गाउँ, धर्म र संस्कृतिप्रति निष्ठावान बन्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ गिम्दी प्रवासी युवा समाज। युवाहरूको त्याग, श्रम र समर्पणले गाउँमा पुनः जीवन फिर्ता ल्याएको छ। वृद्धहरूको आँखामा श्रद्धा फर्किएको छ भने युवाहरूको मुटुमा गर्व पलाएको छ। गिम्दी प्रवासी युवा समाज आज केवल आफ्नो गाउँको गौरव होइन, देशभरका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
