पनौती
पनौती नगरपालिकाका शिक्षकहरुलाई केही दिन देखि विदाको दिन पनि भ्याइ नभ्याइ छ । उनीहरुको यो व्यस्तता प्रविधिमैत्री शिक्षक बनी कक्षाकोठामा प्रवेश गर्नुका लागि हो । जसका लागि उनीहरु तोकिएको विद्यालयमा पुगेर उत्साहका साथ कम्प्युटर सिक्नमा व्यस्त छन् । नगरपालिकाले सबै शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित कम्प्युटर तालिमको अयोजना गरेपछि शिक्षकहरु कम्प्युटर सिक्नमै व्यस्त बनेका हुन् ।
नगरपालिकाको डिजिटल प्रविधिमा आधारित विद्यालय निर्माण गर्ने उद्देश्य सहित नगरपालिकामा कार्यरत सबै शिक्षकहरुलाई कम्प्युुटर सम्बन्धि आधारभूत तालिम प्रदान गर्न लागिएको नगरप्रमुख रामशरण भण्डारीले बताए । ‘समय सापेक्ष प्रविधिमा आधारित रहेर शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो । नगरका सबै विद्यालयमा कम्प्युटर पुर्याइसकेका छौं । अब सबै शिक्षक प्रविधिको प्रयोग गरी शिक्षण सिकाइमा दक्ष हुनु जरुरी छ । यसकै लागि कम्प्युटर कक्षा शुरु गरिएको हो ।’ नगर प्रमुख भण्डारीको भनाई थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रम मार्फत धेरै विद्यालयहरुमा कम्प्युटर ल्याव स्थापना गरिएका छन् । शिक्षण सिकाईका लागि प्रोजेक्टर तथा स्मार्ट बोर्डहरु उपलब्ध गराइएका छन् । तर शिक्षकमा कम्प्युटर चलाउने सिपको कमीका कारण सबै शिक्षकले त्यस्ता प्रविधिका सामग्री प्रयोग गर्न सकेका छैनन् ।
नगरपालिकाले नगरका सबै क्षेत्रका शिक्षकलाई पायक पर्ने स्थानका विद्यालयहरुमा कम्प्युटर सिकाई केन्द्र निर्माण गरेको छ । जसमा कुशादेवी मा.वि कुशादेवी, भालेश्वर मा.वि मल्पी, इन्द्रेश्वर मा.वि पनौती, शारदा मा.वि सुन्थान र कमलादेवी जनप्रिय मा.वि बल्थलीमा तालिम संचालन भइरहेको शिक्षा शाखा पनौतीका स्रोत व्यक्ति महेश्वर जंगमले जानकारी दिए । १५ दिन सम्म संचालन हुने तालिमको पहिलो चरणमा १ सय ५० जना शिक्षक सहभागी गराइएको उनले बताए । विभिन्न चरणमा संचालन गरिने यस तालिम आगामी श्रावण मसान्त सम्ममा सबै शिक्षकलाई प्रदान गरिसक्ने लक्ष्य रहेको उनको भनाई छ ।
गत जेठ ३२ गते तालिमको एक औपचारिक कार्यक्रमका बिच नगरप्रमुख रामशरण भण्डारीले शुभारम्भ गरेका थिए । पहिलो चरणको तालिम असार १५ गते सम्म संचालन हुने छ । संघ प्रदेश तथा नगर स्तरीय कार्यक्रमबाट विद्यालयहरुमा कम्प्युटर लगाएतका सिकाइका सामग्रीहरु व्यवस्थापन भएका छन् । बाँकी विद्यालयमा हुने क्रममा छन् । नगरको उद्देश्य शिक्षण सिकाईमा भरपुर मात्रामा प्रविधिको प्रयोग होस, प्रविधिमा विद्यार्थीहरुको पहुँच रहोस भन्ने हो । नगरको डिजिटलमैत्री विद्यालय निर्माण गर्ने लक्ष्य अनुरुप सबै शिक्षक सक्षम हुन् त्यसको प्रत्यक्ष प्रभाव कक्षाकोठामा देखिुनपर्छ । यहीँ अनुरुप विद्यालयलाई प्रविधियुक्त तथा शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्य नगरपालिकाको नीतिमा रहेकोले तालिम अयोजना गरिएको पनौती नगरपालिका नगर प्रमुखको सचिवालय प्रमुख राजेशराज महतले बताए ।
समय अनुसार शिक्षण प्रकृया र विधिमा फरकपन आउँछ नै अहिलेका विद्यार्थीहरु नै ‘डिस्प्ले मैत्री’ भइसकेका छन् भने शिक्षक पनि त्यस अनुरुप चल्न सक्नुपर्छ । यसका लागि यो तालिम कार्यक्रम उपयोगी रहेको तालिमका सहभागी शिक्षक राजकुमार तिमल्सिनाले बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा अन्य विभिन्न कार्यक्रम मार्फत धेरै विद्यालयहरुमा कम्प्युटर ल्याव स्थापना गरिएका छन् । शिक्षण सिकाईका लागि प्रोजेक्टर तथा स्मार्ट बोर्डहरु उपलब्ध गराइएका छन् । तर शिक्षकमा कम्प्युटर चलाउने सिपको कमीका कारण सबै शिक्षकले त्यस्ता प्रविधिका सामग्री प्रयोग गर्न सकेका छैनन् । नगरपालिको यस प्रकारको कार्यक्रमले शिक्षकहरुमा कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान हुने र कक्षाकोठामा त्यसको प्रयोग गरी प्रविधिमैत्री कक्षाकोठा निर्माण हुने विश्वास गरिएको छ ।