काभ्रे
बागमती प्रदेश सरकारको एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत काभ्रेको पनौती नगरपालिका वडा नं ५ छनोट भएको छ । उक्त कार्यक्रमका विषयमा कृषि उत्पादन सम्बन्धि अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, कृषि बिकास निर्देशनालयको आ.व. २०८१÷८२ को स्विकृत कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले कृषक मैत्री यस प्रकारका कार्यक्रमलाई नगरपालिकाले प्रथमिकतामा राखेको बताए । आफूहरु सधैं कृषकको साथमा रहेको बताउँदै प्रदेश सरकारको सहयोगमा ५ वर्ष निरन्तर संचालन हुने र त्यस पछि यसको दिगोपनको लागि पालिका स्तरबाट निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि एवम् नगरपालिका उपप्रमुख गीता बन्जाराले पनौती नगर कृषिको हब भएको बताउँदै कृषकको पेसागत क्षमता विकासका लागि यस प्रकारकोे कार्यक्रम ल्याइएको बताइन् । वागवानी बिकास केन्द्र पाँचखालका प्रमुख बिष्णु बोगटीले बढ्दो सहरीकरणले गर्दा कृषि क्षेत्र संरक्षण चुनौतीको रुपमा खडा भएको बताए । बेमौसमी तरकारी उत्पादनलाई जोड दिन सके यस प्रकारका कार्यक्रम अझै प्रभावकारी हुने उनको तर्क थियो ।
कृषि बिकास कार्यालय काभ्रेका प्रमुख कुल प्रसाद दवाडीले कार्यक्रम अन्तर्गत न्युनतम ६ सय रोपनी जग्गामा तरकारी खेती गरिने बताए । प्रदेश सरकार, नगरपालिका र लाभग्राही समुदाय बीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी गरिने उनको भनाई थियो ।
कार्यक्रमका सभापति एवं पनौती वडा न ५ का वडा अध्यक्ष विनोद खत्रीले बागमती प्रदेशको १३ जिल्ला का ५ वटा वडामा संचालन हुने यो कार्यक्रम आफ्नो वडामा संचालन हुनु गर्वको कुरा रहेको बताए । उनले निरन्तर ५ बर्षसम्म चल्ने यस कार्यक्रमले कृषि खेतीमा लाग्ने कृषकहरुले उच्च सफलता प्राप्त गर्ने दावी गरे ।
बागमती प्रदेश भित्र ५ वटा वडामा संचालन हुने यस कार्यक्रम काभ्रेको पनौती ५ र बेथान्चोक २ मा संचालन हुँदै छ । कार्यक्रममा स्थानीय कृषकहरु, वडा तथा नगरका जनप्रतिनिधि लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।