बनेपा
काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोल काभ्रेपलाञ्चोकमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । शनिबार आयोजित प्रदर्शनीमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको सहभागीता थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सिकेका सिकाइलाई व्यवहारिक र प्रयोगात्मक विधिले प्रदर्शन गरेका थिए । विद्यार्थीहरुको ज्ञान, सिप र संस्कारलाई विज्ञान, गणित, सामाजिक एवं कलाको माध्यमबाट प्रदर्शन गरेका छन ।
शैक्षिक प्रदर्शनीको उदघाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री जगन्नाथ अवाले गरेका थिए । उदघाटन पछि अध्यक्ष अवाले बढ्दो प्रविधिको उपयोग गरी समय अनुसार युग सुहाउने शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए । त्यस्तै विद्यालयका प्रिन्सिपल श्री कुमार मानन्धरले विद्यार्थीको सिकाईलाई व्यवहारमा देखाउने र प्रयोगात्मक सिप प्रस्फुटन गराउने उद्देश्यले शैक्षिक प्रदर्शनी आयोजना गरेको बताए ।
प्रदर्शनीमा ८० भन्दा बढी स्टल थिए । विज्ञान, गणित, अंग्रेजी, सामाजिक, कम्प्युटर र खानेकुराका स्टलहरु समावेश रहेका थिए । प्रदर्शनीमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक विद्यार्थी लगायत १ हजार ५ सय भन्दा बढीले अवलोकन गरेका थिए । शैक्षिक प्रदर्शनी काभ्रे माध्यमिक विद्यालय बनेपा बुडोलका शिक्षक श्री कुमार घिमिरे र श्यामकृष्ण मानन्धरको संयोजकत्वमा सम्पन्न भएको थियो ।