काभ्रेपलाञ्चोक
बुद्ध जयन्तीको अवसर पारेर काभ्रेपलाञ्चोक जिल्लाको पनौतीदेखि नमोबुद्धसम्म भोलि (वैशाख २९ गते) शान्ति पदयात्रा आयोजना गरिने भएको छ। काभ्रे सेवा समाजको आयोजनामा हुने यस सांस्कृतिक शान्ति पदयात्राको समुद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनौतीमा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ।
“काभ्रेको लागि केही गरौं” भन्ने मुल नारासहित सन् २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले काभ्रेको समग्र विकास, शान्ति, सद्भाव र सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमको आयोजना गर्न लागेको हो।
कार्यक्रमका संयोजक तथा समाजका अध्यक्ष पुरुषोत्तम नेपालका अनुसार शान्ति पदयात्रा पनौतीको ऐतिहासिक मानेश्वरी मन्दिरबाट रिबन काटी सुरु हुनेछ। यात्राले सुन्थान, इटे, शंखु, शंखेश्वरी मन्दिर, जंगल हुँदै अन्ततः बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल नमोबुद्धमा पुगेर टुंगिनेछ। करिब ९.५ किलोमिटर लामो यो पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापारी, पत्रकार, विद्यार्थी, नागरिक समाज लगायत करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रम बागमती प्रदेश अन्तर्गतको काठमाडौं पर्यटन कार्यालयको मुख्य सहयोगमा सम्पन्न हुँदैछ भने काभ्रेका विभिन्न स्थानीय तहहरू तथा अन्य साझेदार संस्थाहरूको समेत सक्रिय सहभागिता रहेको छ। आयोजक समाजले यस पदयात्राबाट विश्वभर शान्ति र सद्भावको सन्देश फैलिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको छ।
नमोबुद्ध, जहाँ गौतम बुद्धले आफ्नो जीवनका एक महत्वपूर्ण क्षण बिताएको विश्वास गरिन्छ, र पनौती, जुन विश्व सम्पदा सूचीमा सूचिकृत हुने प्रस्तावमा रहेको छ । यी दुई ऐतिहासिक र सांस्कृतिक स्थललाई जोड्ने शान्ति पदयात्रा काभ्रेको सांस्कृतिक सम्पदा र पर्यटन विकासको दृष्टिले समेत विशेष महत्वको मानिएको छ।