एक दशकअघिसम्म कहिल्यै बत्ती नबलेको गाउँ, हिलो र धुलो कहाली लाग्दो बाटो , सरकारी सेवाको टुहुरो अनुभूति । त्यही महाभारत गाउँपालिका आजको दिनमा नेपालकै एक नमुना स्थानीय तहका रूपमा स्थापित हुँदैछ।
काभ्रेपलाञ्चोक जिल्लाको विकट भेग मानिने यो पालिकाले बेरुजु शून्य बनाएर सम्पूर्ण देशको ध्यान आफूतिर तान्न सफल भएको छ ।
आर्थिक अनुशासन र पारदर्शिताको सूचक मानिने बेरुजु शून्य आज धेरै स्थानीय तहका लागि सपना जस्तै छ । महाभारत गाउँपालिकाले भने त्यो सपना साकार बनाएको छ। गत आवमा १ अर्ब २५ करोड ४४ लाख ६२ हजार को लेखापरीक्षण गराउँदै शून्य बेरुजु कायम गर्नु आफैंमा एक ऐतिहासिक उपलब्धि हो।
पालिकाका अध्यक्ष कान्छालाल जिम्बा भन्छन्, “हामी वर्षौं अघि देखि नै बेरुजु शून्य बनाउने अभियानमा थियौं। अहिले सफलता हात परेपछि गाउँ र गाउँलेका अनुहारमा चमक देखिएको छ।” बेरुजु शून्य बनाउनु भनेको केवल रकम सही तरिकाले खर्च गर्नु मात्र होइन, सुशासन, जवाफदेहीता र कार्यक्षमताको परिचय दिनु पनि हो।
सडक, बत्ती र सपनाको यात्रा
महाभारतको पहाडी भूगोलमा सवारीसाधन पुग्नु, सडक ढलान हुनु र बत्ती बल्नु – केही वर्ष अघिसम्म असम्भवजस्तै थियो । तर अहिले गाउँपालिकाको अधिकांश क्षेत्र केन्द्रीय प्रशारण विद्युतीकरण भइसकेको छ। बिपी राजमार्ग हुँदै जनमुक्ति मार्ग विस्तार हुँदै गर्दा डाँडापारि इलाकाले समृद्धिको उज्यालो महसुस गर्न थालेको छ। प्रदेश सरकारमार्फत जनमुक्ति मार्गको स्तरोन्नति, पक्की पुल निर्माण, र सडक कालोपत्रे जस्ता कामहरूले डाँडापारिलाई विकासको मार्गमा अघि बढाउँदै लगेकोमा स्थानीय खुशी छन् ।
परिवर्तनको ध्वनि गाउँ गाउँमा
महाभारत गाउँपालिकामा ३ सय ६५ किलोमिटर सडक ट्रयाक खोलिएको र अधिकांश ठाउँमा विद्युत् विस्तार अन्तिम चरणमा पुगेको छ। अबका दिनमा यहाँ शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रमा फड्को मार्ने तयारी छ। पालिकाका उपाध्यक्ष सागर मोक्तान भन्छन्, “विकासको पहिलो खुड्किलो सडक हो। उत्पादन र पर्यटन दुवै यसले जोड्नेछ। यहाँ पर्यटनको अपार सम्भावना छ, जुन सही योजनाले मात्रै फस्टाउन सक्छ।”
राजनीतिक प्रतिबद्धता र जनअपेक्षा
काभ्रेपलाञ्चोक क्षेत्रका संघीय सांसद, प्रदेशसभा सदस्य, मन्त्री र दलका नेताहरूले पछिल्लो समय डाँडापारिको विकासमा प्रतिबद्धता जनाएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस नेताहरू शिव प्रसाद हुमागाई र तीर्थ लामा जस्ता नेताहरूले महाभारतको विकासमा साथ दिने वाचा गरेका छन्।
बेरुजुको अर्थ र सन्देश
‘रुजु’ भन्नाले प्रमाणित गर्ने लेखा प्रक्रिया हो, जबकि बेरुजु भन्नाले कानुन अनुसार प्रक्रिया नपु¥याई खर्च नभएको, अनियमितता नभएको रकम वा विवरण हो। महाभारत गाउँपालिकाले यसलाई शून्यमा झारेर देशभरका स्थानीय तहलाई सुशासनको पाठ सिकाएको छ।