बनेपा,
विश्व रक्तदाता दिवस २०२५ को अवसरमा काभ्रेबाट संचालनमा रहेको अनलाइन पत्रिका साझा पत्रिका डट कमका सम्पादक र निर्देशक सम्मानीत भएका छन् । दिवसको अवसरमा काभ्रेपलाञ्चोकमा नियमित रक्तदाता तथा रक्तसंचारमा योगदान पु¥याउने संघसंस्थाहरूलाई सम्मान गरिएको छ।
कार्यक्रम जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकको समन्वयमा बनेपामा आयोजित उक्त उत्प्रेरणा तथा सम्मान कार्यक्रममा धेरै पटक रक्तदान गर्ने व्यक्तिहरू, बढी रक्त तत्व संकलन गर्ने संघसंस्था, र आकस्मिक अवस्थामा तुरुन्तै रक्तदानमा उपस्थित हुने व्यक्तिहरूलाई सम्मान गरिएको हो ।
हालसम्म १ सय १२ पटक रक्तदान गरेका पनौतीका नारायण सापकोटा र रघुनाथ हुमागाईं लाई विशेष सम्मान प्रदान गरिएको थियो । यस्तै, एकै वर्षमा ४ पटक रक्तदान गरेका धुलिखेलका रमेशप्रसाद हुमागाईं तथा ५० पटकभन्दा बढी रक्तदान गरेका अन्य व्यक्तिहरू सम्मानीत भएका थिए ।
भुम्लु गाउँपालिका अन्तर्गतको ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थालाई ८७ पिन्ट रक्ततत्व संकलन गरेबापत सम्मान प्रदान गरिएको छ। त्यस्तै, नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखा, आफ्नो वार्षिक कार्ययोजनामा रक्तदानलाई समावेश गर्ने सानिमा बैंक, र इ नेगेटिभ जस्ता दुर्लभ रक्त समूहको आपत्कालीन अवस्थामा तुरुन्त उपस्थित भई रक्तदान गर्ने केशवराज पौडेल पनि सम्मानित हुनेमा परे।
सम्मान कार्यक्रमको अवसरमा बनेपा नगरपालिकाका प्रमुख शान्तीरत्न शाक्य, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, र नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्रप्रसाद भैल लगायतले प्रशंसा पत्र प्रदान गर्दै रक्तदाताहरूको योगदानको कदर गरेका थिए।
यसै बिच कार्यक्रम स्थलमै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रमको संयोजन नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकका मन्त्री तथा रक्त सञ्चार सेवा समितिका संयोजक राजु सिग्देलले गरेका थिए । कार्यक्रमले स्वयम्सेवी रक्तदाताहरूलाई सम्मान गर्दै आम नागरिकहरूमा रक्तदानको चेतना अभिवृद्धि गर्न प्रेरणा दिएको आयोजकको भनाइ छ।