बेथानचोक गाउँपालिका वडा नं। ३ ले विहीवार गुरुपूर्णिमाको अवसर पारेर वडाभित्र स्थायी बसोबास गर्ने एसईई उत्तीर्ण ३० जना विद्यार्थीहरूका लागि क्यारियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा करियर काउन्सेलर बासुदेव घिमिरेले प्रमुख प्रशिक्षण दिएका थिए । साथै, बेथानचोकबाट अध्ययनको यात्रा शुरू गरेर विभिन्न क्षेत्रमा सफल भएका व्यक्तित्वहरूले आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग बाँडेका थिए।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विद्यार्थीहरूले ज्ञान र सीप सिकेर बेथानचोकको समृद्धिमा योगदान पुगोस् भन्ने अपेक्षा राख्दै, स्थानीय सरकार सधैं विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता जानाए ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका उपप्रमुख तारा राना तिमल्सिनाले आफ्ना अनुभव साझा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रमका सभापति एवं वडा नं ३ का अध्यक्ष कुबेर ढकालले विद्यार्थीहरूलाई रुचि र क्षमताअनुसार उपयुक्त विषय छनोट गरेर भविष्यमा सफल बन्न शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरुले यस प्रकारका कार्यक्रमहरूले आफूलाई कुन विषय रोज्ने र भविष्य कुन दिशामा डोहोर्याउने भन्ने कुरामा स्पष्टता मिल्ने भएकाले यो निकै फलदायी भएको बताएका थिए ।
साथै एसईई विद्यार्थीलाई लक्षित गरेर यस्ता कार्यक्रम आयोजना गर्ने जिल्लाकै पहिलो वडा बन्न बेथानचोक–३ सफल भएको छ।
