नारायण सापकोटा
पनौती / पनौती नगरपालिका वडा नं ६ अन्तर्गत दलिनचोक बाहुन गाउँमा एकदिवसीय निशुल्क दन्त स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
सेवा निवृत्त स्वास्थ्यकर्मी समाज नेपालले आयोजना गरेको शिबिर समाज डेन्टल अस्पताल बनेपा शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा कुल १ सय ६१ जनाले सेवा लिएका छन्।
शिबिरमा सहभागीहरूले मुख तथा दाँतको सफाइसम्बन्धी परामर्श, दाँतको एक्सरे सेवा, किराले नष्ट गरेका दाँत निकाल्ने सेवा लगायतका सुविधा लिए ।
साथै सबै सेवाग्राहीलाई ब्रस र मञ्जन पनि वितरण गरिएको थियो। शिबिरलाई सफल बनाउन लाइन्स क्लब प्रिन्स अफ काठमाडौं र सुबेडी मेडिकल हब सिनामंगलले औषधि, ब्रस तथा मञ्जन वितरणमा सहयोग गरेका थिए।
कार्यक्रमको उदघाटन गर्दै सेवा निवृत्त स्वास्थ्यकर्मी समाज नेपालका अध्यक्ष विनोद खड्काले यस्ता सेवाहरुलाई निरन्तरता दिँदै देशैभर सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले दलिनचोकको आधारभूत स्वास्थ्य केन्द्रको नाममा एम्बुलेन्स उपलब्ध गराउन सहयोग गर्ने घोषणासमेत गरे।
वडा अध्यक्ष भीमप्रसाद आचार्यले कार्यक्रममा धन्यवाद दिँदै एम्बुलेन्स प्राप्तिका लागि आवश्यक पहल गर्न वडा कार्यालय तथा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रम आयोजक सेवा निवृत्त स्वास्थ्यकर्मी समाजलाई विशेष धन्यवाद समेत दिए।
