
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आगामी शुभ दीपावली २०८२, नेपाल संवत ११४६ तथा छठ पर्वको अवसरमा सार्वजनिक सूचना जारी गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षाको वातावरण कायम गर्न सबैमा आग्रह गरेको छ।
सूचनामा प्रशासनले ऐतिहासिक महत्वका सांस्कृतिक र धार्मिक पर्वहरूलाई सौहार्दपूर्ण वातावरणमा मनाउन अनुरोध गरेको छ । सामाजिक सद्भाव भंग हुने, शान्ति सुरक्षामा असर पार्ने, ठूला आवाजमा लाउडस्पीकर प्रयोग गर्ने, आतसबाजी तथा पटका प्रयोग गर्ने, जथाभावी भीडभाड र मदिराजन्य क्रियाकलाप गर्ने जस्ता कार्य नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न भेटिए कानूनी कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ।
त्यसैगरी देउसी भैलो कार्यक्रमहरू राति ९ः३० बजेपछि सञ्चालन नगर्न पनि अनुरोध गरिएको छ। प्रशासनले सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित र निर्धारित समयसीमाभित्र सम्पन्न गर्न आग्रह गर्दै सुरक्षाकर्मीहरूले निगरानी बढाउने जनाएको छ।
सूचनामा भनिएको छ, “सामाजिक जीवन र सार्वजनिक मर्यादामा खलल पु¥याउने, कानुन विपरीतका जुवातास, खेल्ने खेलाउने पटका विस्फोट, ठूलो ध्वनियुक्त लाउडस्पीकर प्रयोग जस्ता कार्य नगर्न सबैमा अनुरोध छ।”
प्रशासनले कुनै पनि समस्या वा शंकास्पद गतिविधि देखिएमा जिल्ला प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी चौकी वा सम्बन्धित सुरक्षा अधिकारीलाई तुरुन्त जानकारी दिन आग्रह गरेको छ।
