
पनौती
नेपाल शिक्षक संघ पनौती नगर समितिको सातौं प्रतिनिधि सभा पनौती स्थित जंगल रिर्सोटमा शनिवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामशरण भण्डारीले शिक्षकहरु विद्यालय शिक्षाको मात्र नभएर सामाजिक चेतनाको संवाहक भएको बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं २ का उम्मेदवार मधु आचार्यले परिवर्तित समाजका युवाहरुले सुशासनयुक्त शासन व्यवस्था सहितको शासन चाहेको बताए । निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस पार्टीमा परिवर्तन भएको भन्दै उक्त परिवर्तनले नयाँ अनुहार र त्यसमा पनि युवा वर्गले स्थान पाएकोले परिवर्तन चाहनेहरुले नेपाली कांग्रेस रुचाउन थालेको बताए । समाज निर्माण गर्नका लागि असल नेतृत्व चयन सहित असल सरकार निर्माण गर्नमा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
अर्का विशिष्ठ अतिथि तथा उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नं १का गुणराज मोक्तानले आफू संलग्न संस्थाहरु तथा आफूले गरेका पेसा शिक्षा क्षेत्रसँग निकट भएको र हाल सम्मको आफ्नो जीवन शिक्षा क्षेत्रमै समर्पित भएको कारण पनि आफूले शैक्षिक क्षेत्र र शिक्षकहरुको सहयोग पाउने विषयमा ढुक्क रहेको बताए ।

समानुुपातिक उम्मेदवार मिरा नेपालीले समतामूलक समाज निर्माणका लागि सबैको सहयोग जरुरी रहेको बताइन्
शिक्षक संघ पनौतीका नगर अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय, प्रदेश स्तरीय तथा स्थानीय तहस्तरका शिक्षक नेताहरु, शिक्षकहरु तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
