
पनौती ।
१६औं वार्षिकोत्सवको अवसर पारेर सिन्धु विकास बैंकले पनौती नगरपालिका–६ स्थित श्री गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ।
आइतबार बिहान विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकका कर्मचारीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै सिन्धु विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशकुमार के.सी.ले सामुदायिक विद्यालयहरूको अवस्था सुधारमा बैंकले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यलाई संस्थाले आगामी दिनमा अझ विस्तार गर्ने उल्लेख गरे।
त्यसैगरी, बैंकको पनौती शाखा प्रबन्धक रुपक वस्ताकोटीले प्रदान गरिएको स्टेशनरी सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रिया मात्र होइन, उनीहरूको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष भीमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन दाहाल, बालमैत्री सहजकर्ता सरिता गजुरेल, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा बैंकका प्रतिनिधिहरूको उपस्थितिमा सामग्री वितरण गरिएको थियो।

