तेलअभिभ
झापाका धनबहादुर देवानले इजरायलको दक्षिणी भाग किरातगातमा रकेट नदेखेको दिन छैन । गाजा क्षेत्रको नजिक रहेको किरातगातलाई लक्षित गरी प्यालेस्टाइनी विद्रोही समूह हमासले कैयौं पटक रकेट प्रहार गरिसकेको छ । हालै एउटा रकेटको छर्रा देवान बस्ने घरमा पनि खसेको थियो ।
‘केही दिनअघि कोठाभित्रै रकेटको छर्रा आइपुग्यो । छर्रा तलमाथि गरेको देख्दा एकछिन त सात्तो नै गयो,’ उनले भने, ‘हामी बोर्डरछेउ बस्नेलाई यस्तो कुरा खासै नौलो लाग्दैन ।’ मंगलबार मात्रै पनि हमासले बिहानदेखि रातिसम्म सयौं रकेट प्रहार गरेको थियो । त्यसमध्ये अधिकांश दक्षिणी इजरायलको भागमा पर्ने नेगेभ, साफेला, लाकहिसा, बिरसेवालगायत स्थानलाई लक्षित गरिएको थियो । ‘आकाशमा आउने रकेटको खास डर छैन,’ देवानले भने, ‘दक्षिण भेगमा त घण्टाघण्टामा रकेट झर्छ । त्यो आकाशमा नै निस्तेज हुन्छ ।’
इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो द्वन्द्वलाई लिएर पूरै मध्यपूर्व तनावमा रहेका बेला इजरायलमा दशक बिताइसकेका नेपालीहरू भने धेरै आत्तिएका देखिँदैनन् ।उनीहरू हमासले प्रहार गर्ने रकेट इजरायली सेनाले आकाशमै निस्तेज पर्नेमा ढुक्क छन् । ‘अहिलेको युद्ध भयंकर हो तर तेलअभिभभन्दा निकै टाढाको युद्ध हो । तेलअभिभमा बस्नेहरूका लागि भने सामान्य छ,’ १० वर्षदेखि इजरायलमा कियरगिभरका रूपमा कार्यरत मोरङका प्रकाश लिम्बूले कान्तिपुरसँग भने, ‘हमासले फाल्ने रकेट आकाशमै निस्तेज हुने हुनाले हामी ढुक्क छौं ।’
गत अक्टोबर ७ मा रकेट निस्तेज बनाउने इजरायलको आइरन डोम चुकेपछि भने ठूलो क्षति बेहोर्नुर्पयो । उक्त हमलामा परेर मंगलबारसम्म १४ सयभन्दा बढी इजरायलीको ज्यान गइसकेको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो ।
उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयबाट अर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इजरायलको कृषि क्षेत्रको अध्ययनका लागि आएका थिए । नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको आक्रमणमा घाइते पाँचमध्ये एक जना नेपाल फर्किसकेका छन् भने चार जनामध्ये तीनको तेलअभिभकै अस्पतालमा उपचार भइरहेको छ । एक जना अस्पतालबाट डिस्चार्ज भएर इजरायलस्थित नेपाली दूतावासमा आराम गरिरहेका छन् ।
हमासबाट भएको आकस्मिक हमलाका बारेमा पूर्वसूचना नपाउनुमा सरकारको कमजोरी रहेको इजरायली प्रधानमन्त्रीले स्वीकार गरिसकेका छन् । उक्त घटनापछि इजरायलतर्फबाट भएको प्रत्याक्रमणमा चार हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।
इजरायलमा पुरुष र महिला कियरगिभर गरी ४ हजार ५ सय नेपाली कार्यरत छन् विद्यार्र्थीबाहेक कृषि क्षेत्रमा दीर्घकालीन भिसामा काम गर्ने नेपाली छैनन् । नेपाली कामदार तेलअभिभ, हाइफा, नातानिया, रमादगान, रिसोन, राम्ले, नजेरेत, होदासरण, रमताविफमा बस्छन् । यी सुरक्षित स्थान हुन् ।
‘हामी दुई जना शारीरिक अशक्त एक बाजेको सेवामा छौं, उनलाई २४ घण्टा नै रेखदेख गर्नुपर्छ,’ २०१४ देखि केयरगिभरमा कार्यरत झापाका जीवन ढकालले भने, ‘काम नियमित भइरहेको छ । त्यस्तो डर छैन । साइरन बज्दा भने बंकरमा गइहाल्छौं ।’ कामको सम्मान र उचित ज्याला रहेकाले ठूलै कारण नभएसम्म इजरायल नछोड्ने उनले निर्णय गरेका छन् । ‘कामको सम्मान छ, मासिक ४ हजार ५ सय न्यूनतम तलब नै छ । बिदाको दिनमा काम गर्दा ३ सय ८० थपिन्छ,’ उनले भने, ‘कियरगिभरमा अहिले नै घर जानुपर्छ भन्ने देखिँदैन किनकि धेरैजसोलाई बाहिर निस्कनुपर्दैन ।’
उनीहरूको स्वदेश फिर्ने इच्छा नभए पनि परिवारले छिटो आउन ताकेता गरिरहेका छन् । ‘रकेटलाई माथिबाट नै झार्ने भएकाले खासै क्षति हुँदैन । भूमिभित्र नै छिरेर मान्छे मार्ने कार्य भने गलत थियो,’ ढकालले भने, ‘जुन क्षेत्रमा समस्या छ, त्यहाँ धेरै नेपाली छैनन् । परिवार र आफन्तहरू घर फर्क भन्छन् । त्यतिकै काम छोड्ने पक्षमा छैनौं ।’
१० वर्षदेखि इजरायलमा कार्यरत इटहरीका टीका तिमल्सिनाले द्वन्द्वले व्यापार–व्यवसायदेखि हरेक कुरालाई घाटामा पारेको बताए । ‘प्रत्येक दिन होटल प्याक नै हुने गथ्र्यो,’ उनले भने, ‘चिन्तित त बनाएको छ । बंकरमा नै सुतिरहेको छु ।’
नेपाली दूतावासका अनुसार शुरुमा ६३९ जनाले स्वदेश फर्कन फारम भरेका थिए । त्यसमध्ये २७२ जना नेपाल फर्किसकेका छन् । फारम भर्ने बाँकीमध्ये अधिकांशले तत्काल नफर्कने जवाफ दिने गरेको नेपाली राजदूत कान्ता रिजालले बताइन् । हाल ६१ जना मात्रै स्वदेश फर्कनका लागि दूतावासको सम्पर्कमा रहेको राजदूत रिजालले जानकारी दिइन् । यो समाचार इकान्तिपुर डटकममा छ ।