बनेपा
प्रतिभा सम्मान प्रवन्ध गुठीद्वारा काभ्रेका नौ जना ब्यक्तिहरुलाई प्रतिभाको रुपमा सम्मान गर्ने भएको छ ।
गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालका अनुसार प्रतिभा सम्मान प्रवन्ध गुठीले २०७७, २०७८ र २०७९ सालको सम्मान प्रदान गर्न लागिएको हो । प्रत्येक वर्ष जिल्लाका तीन जना प्रतिभाहरुलाई सम्मान गर्दै आएकोमा कोरना महामारी (कोभिड १९) का कारण सम्मान कार्यक्रम नभएकोले विगत ३ वर्षको यसै वर्ष सम्मान गर्न लागिएको बुझिएको छ ।
सम्मानित हुनेमा ३ जना पत्रकार, ३ जना साहित्यकार तथा ३ जना उद्यमी महिलाहरु रहेका छन् । २०७७ सालको सम्मानबाट काभ्रेका तीन पत्रकारहरु भोला थापा, मोतीराम तिमल्सिना र पत्रकार दिपक सापकोटा छन् । त्यस्तै २०७८ सालको सम्मानका लागि तीन जना साहित्यकारहरु यादव खरेल, सूर्यप्रसाद लाकोजू र रत्नप्रसाद अनामणीलाई सम्मान का लागि छनौट गरिएको छ । २०७९ सालको सम्मानबाट काभ्रेका तीन उद्यमी महिलाहरु कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु उद्यमी महिला प्रतिभाबाट सम्मानित हुने भएका हुन् ।
सम्मानित प्रतिभाहरूलाई नगदसहित आगामी पुष महिनामा उक्त सम्मान प्रदान गरिने जानकारी साहित्यकार तथा गुठीका अध्यक्ष मोहन दुवालले दिएका छन ।