धुलिखेल
काठमाडौं विश्वविद्यालयले आफ्नो स्थापना दिवस तथा दीक्षान्त समारोहकाे कार्यक्रम आयोजना गर्ने भएको छ ।
विश्वविद्यालयले ३२ औं स्थापना दिवसको अवसर पारेर सोमबार, मंसिर २५ गते स्थापना दिवस तथा बुधबार, मङ्सिर २७ गते दीक्षान्त कार्यक्रम आयोजना गर्न लागेको हो । स्थापना दिवस समारोहमा तीन विशिष्ट विद्वानहरूको अभिनन्दन गर्ने कार्यक्रम रहेकाे विश्वविद्यालयले जनाएकाे छ ।
अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. नरेन्द्र बहादुर राणा, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर, र पूर्व सभामुख दमननाथ ढुङ्गाना छन् ।
समारोहमा डा. न्हुछेरत्न तुलाधरको पुस्तक समेत विमोचन हुने भएको छ । यसैगरी, काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह (पहिलो चरण) २०८० मङ्सिर २७ गते बुधबार बिहान ११ बजे काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ ।
कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षता, शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा.गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति श्री अशोक कुमार राई र माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री श्री प्रमिला कुमारीको उपस्थिति रहनेछ ।
समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् ।
तीमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरूषको प्रतिशत ४६.०३ (६ सय ४६ जना) तथा महिलाको प्रतिशत ५३.९७ (९ सय ९२ जना ) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरु ६.१५ प्रतिशत रहेका र तीमध्ये भारत, श्रीलङ्का र माल्दिभ्स गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।
उनन्तीसौं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना उत्तीर्ण भएका विश्वविद्यालयका प्रवक्ता तथा स्कुल अफ आर्टसका सह प्रध्यापक एक्कुमाया पुन द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।