ढुर्खक
शहरी विकास मन्त्री सीता गुरुङले तीन वर्ष भित्र पनौती हेटौंडा वैकल्पिक सहायक राजमार्गले पूर्णता पाउँने बताएकी छिन् ।
प्रस्तावित पनौती–खोपासी–ढुङखर्क च्याम्राङवेशी हुँदै मकवानपुरको फापरबारी सम्म पुग्ने वैकल्पिक सहायक राजमार्ग खण्डमा पर्ने ढुर्खकको पाट्नेखेलामा मोटरेवल पुलको शिलान्यास गर्दे उक्त कुरा बताएकी हुन् ।
उक्त राजमार्ग निर्माण पछि काभ्रे जिल्लाको सदरमुकामबाट प्रदेशराजधानी हेटौंडा सम्म पुग्नका लागि सबैभन्दा छोटोदुरीको सडक हुने छ । संघीय सरकार शहरी विकास मन्त्री सीता गुरुङले शुक्रबार एक कार्यक्रम बिच पुलको शिलान्यास गरेकी छिन् ।
शिलान्यास कार्यक्रममा बोल्दै गुरुङले काभ्रेबाट प्रदेश राजधानी हेटौंडा पुग्ने छोटो दुरीको सडकका लागि माग भए अनुसार स्थानीय पूर्वाधार विभाग अन्तर्गत वैकल्पिक साहायक राजमार्गका रुपमा राखी बजेट विनियोजन समेत भएको जानकारी दिइन ।
‘शहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग अन्तर्गत वैकल्पिक सहायक राजमार्गका रुपमा बजेट विनियोजित गरिएको छ । यो वर्ष कम रकम विनियोजन भए पनि हरेक वर्ष बजेटले निरन्तरता पाउँछ ।’ उनको भनाई थियो ।
‘मन्त्रालयमा म रहँु वा नरहँु बढिमा आगामी ३ वर्षमा पनौती देखि फापरबारी सम्म वैकल्पिक सहायक राजमार्गले पूर्णता पाउने छ ।’ उनले भनिन ।
सरकार भन्नाले तीन तहकै सरकार रहेका र विकास कार्यमा सबै सरकारको उत्तिकै जिम्मेवारी रहने भन्दै बेथानचोक गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराएमा नियमानुसार ६० प्रतिशत लागत मन्त्रालयले बेहोर्ने उनले बताइन । स्थानीय मौलिकतामा आधारित भवन निर्माण भएको खण्डमा थप २० प्रतिशत उपलब्ध हुने उनको भनाई थियो ।
विकासको सवालमा राजनीति हेरिन नहुने भन्दै सामुहिकता र साझा प्रयासबाट मात्र विकास सम्भव भएको मन्त्री गुरुङको. भनाई थियो ।
पछिल्लो समय राम्रोको खोजी भन्दा पनि नराम्रो विषयको चर्चामा रमाउने प्रवृत्ति विकास भएको भन्दै सरकारका राम्रो काममा साथ सहयोग गर्न समेत उनले आव्हान गरिन् ।
नवनिर्मित पुलले स्थानीयको जीवन स्तरमा पार्ने प्रभावहरुको विषयमा चर्चा गर्दै योजनाहरु तोकेको समयमा पूरा गर्न नसक्नु पनि भष्ट्रचार भएको भन्दै पुल समयमा निर्माण सम्पन्न गराउन लागि पर्नु सबैको जिम्मेवारी भएको बताइन् ।
बाग्मती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले उक्त वैकल्पिक राजमार्ग निर्माण पछि जिल्लाको दक्षिणीभेगका बासिन्दाको जीवन स्तरमा प्रभाव पार्ने भन्दै सो क्षेत्रको विकासको लागि आफू निरन्तर लागेको बताए ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पुल निर्माण लगायतका कार्यमा गाउँपालिकाको विकासको लागि साझा प्रयास गरिएको वताए ।
गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले हालमो बेथानचोक हुँदै तराई जोडने सडक वीपी कोइरालाको पालामा योजना निर्माण भएको र हाल सम्म पनि योजनले मुर्तरुप नपाएको अब छिट्टै यसलाई पुर्णता दिनुपर्छ भने ।
आफ्नो ५१ वर्षे राजनीतिक जीवनमा उक्त सडकको विषयमा निरन्तर पहल गरेको बताउँदै प्रदेश राजधानी हेटौंडा भए सँगै यसको महत्व बढेको बताए । विकास कार्य सदैव नागरिकको हितमा हुने भन्दै विकास निर्माण निरन्तर चल्ने प्रक्रिया भएकाले त्यसको जस लिन तछाडमछाड गर्न नहुने बताए ।
बेथानचोक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम तिमल्सिनाले पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङवेशी –फापरबारी सम्म पुग्ने सडक खण्डमा बनेको पुलले समग्र क्षेत्रले लाभ पाउने बताए ।
बेथानचोक वडा नं २ मा पर्ने पाटनेखोलामा निर्माण हुने उक्त पुल २० मिटर लम्बाइको निर्माण हुनेछ । पुल भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुरमार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न गर्ने गरी खम्पाचे –गोल्मादेवी इञ्जिनियरिङ जेभीले जिम्मेवारी पाएको छ ।