काभ्रे
आजबाट घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने तुलसीको विशेष पूजा शुरु भएको छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा।डा देवमणि भट्टराई बताउँछन् ।
भगवान विष्णुको शयन अवधि चार महिनालाई चर्तुमासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा भक्तजनहरु पूजा आजका लागि उपस्थित हुन गर्छन ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा विषालु प्रकारका कीटाणु नआउने बताइन्छ भने प्रशस्त अक्सिजन प्रदान गर्ने वनस्पति हो ।