नेपालीहरुकाे महान चाड दशैं घर आँगनमा आइसकको छ । गच्छे अनुसारको खर्चको योजना सहित रकम जुटाएर सबै किनमेलमा जुटेका छन् । तर दशैंका लागि किनमेलमा निस्केका हरेकलाई अहिलेको बजार मूल्य सुन्दा एक पटक झस्का दिन्छ । खर्च व्यवस्थापन गरी चाडबाडलाई खुशीपूर्ण बनाउने पारिवारिक चाहाना तथा जिम्मेवारी अनि समाजिक दायित्व पूरा गर्ने उद्देश्य सबैको भएपनि ह्वातै बढेको बजार मूल्यले यो पटक सर्वसाधरणको दशैं महङ्गो पर्ने देखिएको छ ।
नेपालका सबैजसो ग्रामीण क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेको नै कृषि तथा पशुपालन हो । पूर्णव्यवसायीक हुन नसकेको नेपालको कृषि तथा पशुपालनबाट पर्याप्त खर्च गर्न सक्ने क्षमता कमैको हुन्छ । बढेको बजार मूल्यले उच्च अंकमा कमाई गर्ने सिमितलाई फरक नपर्ला तर कमजोर आय भएकाहरुका लागि दशैं खल्लो बन्ने देखिन्छ ।
कहिले कोरना महामारी, त कहिले रुस युक्रेन युद्धका वाहना सहित खाद्य लगायतका दैनिक उपभोग्य पदार्थमा हुने गरेको मूल्य बृद्धि सधै उकालो अंकमा मात्र छ । त्यसमा पनि चाडबाडको समयमा मूल्य बृद्धि गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने कार्य नौलो होइन । जसले अहिले पनि निरन्तरता पाएको छ । अहिले त केही दिनकै अन्तरालमा हुने अस्वभाविक मूल्य बृद्धिले उपभोक्ता नै चकित बन्ने अवस्था सिर्जना भएको छ ।
बजारमा पसलहरु पिच्छे फरक मूल्य हुनु । छोटो अन्तरालमै अस्वभाविक मूल्य बढ्नु । बजारमा एकै पटक अत्यावश्यक सामग्री अभाव रहनु अनुगमनका विषय हुन् यस विषयमा बजार व्यवस्थापनका लागि ‘उपभोक्ता संरक्षण ऐन २०७५’ मा स्पष्ट व्यवस्था गरिएको छ । तर बजारको अवस्था हेर्दा ऐन र व्यवहारमा फरक देखिएको छ । चाडपर्व लक्षित गरि सामान्य अनुगमन गरिए पनि त्यो औपचारिकतामा पुरामात्र गरेको आरोप लाग्ने गरेको छ । यसलाई व्यवस्थित बनाइनु जरुरी छ ।
बढ्दो महङ्गीबाट सर्वसाधरणलाई राहत दिन सुपथ मूल्य पसल संचालन गरिनु अर्को महत्वपूर्ण विषय हो । सरकारले देशभरका मूख्य शहरहरुमा सुपथ मूल्य पसल संचालन गरेको पनि छ । तर यो पर्याप्त छैन । सुपथ मूल्य पसलमा सामान्य कम मूल्यमा सामन खरिद गर्न घण्टौं लाइन बस्न उपभोक्ता बाध्य देखिन्छन् । मुख्य शहर लक्षित यस्ता पसलहरुमा हुने उपभोकताको चापले शहर,शहरोन्मुख क्षेत्र तथा ग्रामीण क्षेत्रका नागरिकलाई समेटन सकेको छैन । यस तर्फ पनि सरकारले थप कदम चाल्नु जरुरी छ ।