बेथानचोक
यस वर्ष विभिन्न पालिकहरुले तिहारका लागि पालिका भित्रै उत्पादन भएको फूल प्रयोग गर्न प्रोत्साहन गरिरहेका छन् भने कतिले सजावटमा प्रकृतिक फूलको मात्र प्रयोग होस भन्ने हेतुले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री निशेध गरेका छन् । यसै क्रममा जिल्लाको बेथानचोक गाउँपालिकाले पनि तिहारमा सजावटका सामग्रीको रुपमा प्लाष्टिकजन्य वस्तु प्रयोग नगर्न अनुरोध गरेको छ ।
खेतबारीमा फूलेका सयपत्री लगायतका फूलहरुको प्रयोग गर्दै प्लाष्टिकजन्य सजावटका सामग्रीको प्रयोग नगर्न पालिकाले आग्रह गरेको हो । आफ्नो बस्तीलाई वातावरणमैत्री बनाउन र स्थानीय स्तरमा फुलेका फूलको प्रयोग गर्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।
पालिकाले एक सूचना जारी गर्दै बेथानचोक गाउँपालिका क्षेत्रभित्र घर, पसलहरु सजाउनको निम्ति प्रयोग हुने प्लाष्टिकको विभिन्न फूलमाला तथा सजावटका सामानहरु किनबेच बढ्दै गएकोप्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । प्लाष्टिकजन्य सजावटका सामान बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्नु वातावरणमैत्री कार्य समेत हुने भएकाले प्लाष्टिकजन्य फूलमाला तथा सजावटका सामग्री प्रयोग नगरी खेतबारीमा फूलेका सयपत्री लगायतका फूलहरुको प्रयोग गर्न गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।