काठमाडौं
जल तथा मौसम पूर्व अनुमान विभागले आगामी ३ दिन( असार २९ गते )सम्म मनसुन सक्रिय रहने र त्यसको प्रभाव देशभर पर्ने बुलेटिन मार्फत जानकारी दिएको छ ।
हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग र सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको जनाएको छ । मौसम प्रणालीहरुको प्रभावले आज राती देखि आगामी असार २९ गतेको बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताका लागि आज विशेष बुलेटिन जारी गरेको हो ।
आज राति देखि २९ गतेको बिहानसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।
यस अवधिमा भूूक्षय पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन भनेको छ ।