काठमाडौं । सोमबार बसेको मन्त्री परिषदको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरे सँगै सामाजिक संजालबाट विरोध गर्नेहरु प्रशस्तै थिए । उक्त निर्णयका विरुद्धमा आज राजधानी लगायत देशका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन भएका छन् भने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरुले लोडसेडिङ चाइँदैन कुलमान हटाउन पाइँदैन्,मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर, लगायतका नारा सहित विरोध प्रदर्शन गरेका हुन् । घिसिङलाई पदबाट हटाउने निर्णय जनविरोधी भएको भन्दै वाईसीएल लगायतका माओवादी निकट संगठन र मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।
माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले वर्तमान सरकारले एकपछि अर्को जनविरोधीका काम गर्दै अघि बढेको आरोप लगाए । कुलमानलाई बर्खास्त गरेर वर्तमान सरकार प्रतिगमनतर्फ उन्मुख भएकाले त्यसविरुद्ध सडकमा आउनुपरेको उनको भनाई छ ।
त्यसैगरी घिसिङलाई पदबाट हटाएको विरोधमा राजधानीमा स्वतन्त्र युवाहरुले पनि विरोध प्रदर्शन गरेका छन् । लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै उनीहरुले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले निर्णय फिर्ता लिन माग गरेका छन्।
ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन भएको थियो । उक्त स्थानमा प्रदर्शन गरिरहेका केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै नेकपा बहुमतका युवाहरुले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । निषेध क्षेत्रमा प्रदर्शन भएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक भएको छ । उक्त बोर्ड ह्याक गरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा देखिएको थियो । बोर्ड ह्याक प्रकरणमा नेकपा एमाले निकट युवा समूहले कार्यालय प्रमुखमाथि हातपात गरेको समाचार छ । मंगलबार बिहान ३५/४० जनाको समूहले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गर्नुका साथै कार्यकक्ष तोडफोड गरेको बताइएको छ ।