काभ्रेपलाञ्चोक\काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको अवसर पारेर आगामी बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म सांस्कृतिक शान्ति पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । समाजले गत वर्ष २०८० साल असोज ६ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्राको आयोजना गरेको थियो ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिन लागिएको समाजका अध्यक्ष पुरुषोत्तम नेपालले जानकारी दिए । उनका अनुसार, पनौतीको मानेश्वरीबाट रिवन काटी शान्ति पदयात्रा सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ ।
बुद्ध जयन्तीको दिन पारेर आयोजना गरिने यो कार्यक्रम विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ ।
समाजका अनुसार, पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार व्यवसाय, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।