सिन्धुपाल्चोक/ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारि गरेको छ । चिनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने र जसको कारणले गर्दा भोटेकोशी र सुनकोशी नदीमा बाढी आइ जोखिम उत्पन्न हुनसक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक सीडीओ गणेश नेपालीले सूचना जारी गर्दै असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । चीनको प्रहरी कार्यालयबाट तिब्बत क्षेत्रमा भारी वर्षा हुने सूचना प्राप्त भएपछि सिन्धुपाल्चोकले सूचना प्रवाह गरेको हो ।
‘भोटेकोशी र सुनकोशी नदी तटीय क्षेत्रहरू भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ’ – सूचनामा भनिएको छ । सुनकोशी नदीमा बाढी आएको खण्डमा काभ्रेको दोलालघाट देखि रोशी गाउँपालिका सम्म पनि जोखिम हुन सक्छ ।