ललितपुर / ललितपुरकाे ग्वार्काे चाेकमा देशकै पहिलाे ओभरपास निर्माण सम्पन्न भएकाे छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको उक्त ‘ओभरपास’को उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहका बीच ‘ओभरपास’को उद्घाटन गरेका हुन् ।

उपत्यकाको चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण गरेको हो । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्कोचोकमा पहिलो ओभरपास निर्माण भएको हो । ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारीसाधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिएको छ।
