
काभ्रे
नेपाल शिक्षक संघ काभ्रेको घुम्ती बैठक पाँचखाल ,खरेलथोकस्थित भगवती माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। संघको वार्षिक कार्यतालिका अनुसारको यो पहिलो घुम्ती बैठक हो।
बैठकमा प्रमुख अतिथि नेपाल शिक्षक संघ बागमती प्रदेशका उपाध्यक्ष अनिलकुमार झाले कार्यक्रममा बोल्दै शिक्षकले इमान्दारिता र कर्तव्यनिष्ठतालाई आधारभूत गुणका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिए। उनले शिक्षक सधैं पेसागत विषयमा चनाखो रहनुपर्नेमा समेत ध्यानाकर्षण गराए।
कार्यक्रममा अतिथि संघकी प्रदेश सदस्य सकुन्तला त्रिपाठीले पेसागत संस्थालाई सुदृढ बनाउँदै विकृति र कमजोरी हटाउनुपर्ने धारणा राखिन्। विचारका आधारमा पेसागत विभेद वा वेमेल आउन नहुने उनको भनाइ थियो।
संघका काभ्रे अध्यक्ष शम्भुप्रसाद घिमिरेले सभापतिको मन्तव्य दिँदै विगतका ठूला आन्दोलनदेखि पेसागत हकहितका लागि नेपाल शिक्षक संघको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए। उनले हाल उत्पन्न भएका विभिन्न चुनौतीबीच पनि पेसागत अधिकार संरक्षणका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा शिक्षक संघ पाँचखाल नगर अध्यक्ष रमेश खरेलले स्वागत मन्तव्य दिएका थिए। त्यस्तै, विभिन्न पालिकास्तरका शिक्षक संघ अध्यक्षहरूले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए। बैठकमा सदस्य नविकरण, प्रतिनिधि सभाका विषायमा छलफल हुनुका साथै बडा दशैं–तिहार २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम असोज ३ गते बनेपामा गर्ने निर्णय गरेको छ। दोस्रो घुम्ती बैठक भने कार्तिक २२ गते भुम्लु गाउँपालिकामा गर्ने तय भएको छ।
बौद्धिक अपांगता भएका बालबालिकालाई शिक्षक संघको सहयोग
बैठकसँगै नेपाल शिक्षक संघले पाँचखाल–खरेलथोकस्थित बौद्धिक अपांगता भएका बालबालिकाको सिकाई केन्द्रमा सहयोगसमेत गरेको छ। सुधा सिलवाल स्मृति प्रतिष्ठानद्वारा सञ्चालित केन्द्रमा संघका जिल्ला अध्यक्ष शम्भुप्रसाद घिमिरेसहितका शिक्षक नेताको उपस्थितिमा आर्थिक सहयोग सहित फलफूल वितरण गरिएको थियो।
अध्यक्ष घिमिरेले सबै स्तरका बालबालिकाले सिकाइमा सहभागी हुने अधिकार सुनिश्चित गर्न संघले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले क्यान्सरका कारण असामयिक निधन भएकी शिक्षिका स्व. सुधा सिलवालले आफ्नो सम्पूर्ण कमाइ दान गरेर सिकाइ केन्द्र स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएको स्मरण गरे।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष नवराज पाण्डे, सचिव रमेश खरेल, संघका प्रदेश उपाध्यक्ष अनिलकुमार झा, सदस्य सकुन्तला त्रिपाठीसहित जिल्ला तथा नगरस्तरका शिक्षक नेताहरूको उपस्थिति थियो।
