काभ्रे । ‘जेनजी’ पुस्ताद्वारा सुरु गरिएको आन्दोलन सोमबार रक्तपातमा परिणत भएको छ । राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरी स्रोतअनुसार मृत्यु हुनेमध्ये ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र काठमाडौँ मेडिकल कलेजमा २ जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ, १९ वर्षीय सिमाय चौलागाईं र कालिकोटका २५ वर्षीय पवन शाहीलाई टाउको र पेटमा गोली लागेको चिकित्सकहरूले जनाएको समाचार छ ।
प्रदर्शन स्थलमा समाजिक संजाल बन्द तथा भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका युवामाथि प्रहरीको गोली प्रत्यक्ष टाउकोमा लाग्ने गरी प्रहार गरिएको बताइएको छ । यस क्रममा पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना समेत घाइते भएको समाचार छ । बानेश्वर क्षेत्रमा मात्रै ८७ जना घाइतेको उपचार भइरहेको छ ।
राजधानीमा भएको अन्दोलन दमनको प्रयास र दर्जन बढिको मृत्यु भएपछि आन्दोलन देशभर उग्र बन्दै गएको छ । आन्दोलनलाई नियन्त्रणमा लिन प्रशासनले देशका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
यस क्रममा रुपन्देही भैरहवा र बुटवल क्षेत्रमा सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाको चार किल्लाभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । कास्कीको पोखरा महानगर क्षेत्रमा दिउँसो २ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसै गरी झापा काभ्रेको बनेपा लगायत देशका विभिन्न शहरहरुमा राजधानीको घटनाको विरोध सहित आन्दोलनभएका खबर छन् ।
यसै बिच मानवअधिकार तथा शान्ति समाजले आन्दोलनकारीमाथि अन्धाधुन्ध गोली प्रहारलाई “जघन्य अपराध” भन्दै कडा आपत्ति जनाएको छ । “नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकारले नैतिक वैधानिकता गुमाइसकेको छ,“ विज्ञप्तिमा भनिएको छ ।
शान्ति समाजले भ्रष्टाचारविरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन स्वीकार्य नभएको भन्दै जिम्मेवारहरुलाई तत्काल दण्डित गर्न माग गरेको छ ।
