
काठमाडौँ । राजधानी काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि सरकारविरुद्धको प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
सोमबारदेखि तनावग्रस्त बनेको काठमाडौंमा आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवाहरू भेला भएर प्रदर्शन सुरु गरेका हुन् । संसद भवन अगाडि नाराबाजी गर्दै उनीहरूले ‘हाम्रा साथी फिर्ता दे’ सरकार राजीनामा दे ’ लगायतका माग अघि सहित सडक प्रदर्शनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १९जनाको मृत्यु भएको छ भने ४ सय २१ जना घाइते भएका छन् । तीमध्ये १७ जनाको काठमाडौंमा र २ जनाको इटहरीमा ज्यान गएको पुष्टि भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्युआदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा अर्को आदेश नआएसम्म कफ्र्यु कायम रहने उल्लेख छ ।
कर्फ्युआदेशअनुसार बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयंम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथ क्षेत्रभित्र कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा आवतजावत गर्न पाइने छैन ।
यद्यपि, आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी,सञ्चारकर्मी पर्यटक सवारी साधन, मानव अधिकार र कूटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकटधारी यात्रुको आवागमन भने सुरक्षाकर्मीको सहजीकरणमा हुने सूचनामा प्रष्ट पारिएको छ ।
