
काभ्रे
देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी, युवा तथा नागरिकप्रति श्रद्धाञ्जली स्वरूप पनौती नगरपालिकाले भाद्र २४ गते का लागि शैक्षिक संस्थाहरूमा शोक बिदा दिने घोषणा गरेको छ।
नगर पालिकाद्वारा जारी गरेको सूचनामा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ।
पनौती नगरपालिकाअन्तर्गतका सम्पूर्ण शैक्षिक संस्थामा शैक्षिक गतिविधि स्थगित हुने सूचनामा प्रष्ट पारिएको छ।
त्यसै गरी जिल्लाको भुम्लुगाउँपालिकाले पनि पालिका भित्रका सबै शैक्षिक संस्था बन्द गरेको छ । देशका विभिन्न स्थानमा जारी आन्दोलन तथा त्यसबाट उत्पन्न सुरक्षात्मक चुनौतीलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले आफ्ना क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय भोलि (भाद्र २४ गते बन्द गर्ने निर्णय गरेको छ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले हस्ताक्षर गरी आइतबार जारी गरिएको सूचनामा एक दिनका लागि विद्यालय बिदा हुने उल्लेख गरिएको छ। सूचनामा पालिका भित्रका विद्यालयहरुमा संचालित परीक्षाका विषयगत परीक्षा भने भाद्र २७ गते सञ्चालन हुने गरी सारिएको पनि प्रष्ट पारिएको छ।
गाउँपालिकाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई उक्त निर्णय पालना गर्न अनुरोध गरेको छ।
