काभ्रेपलाञ्चोक
नख्खु कारागारबाट हालैको जेनजी आन्दोलनका क्रममा फरार भएका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
पक्राउ पर्ने डरले घरमै लुकेर बसेका पनौती नगरपालिका–१२ कलाँतीका ३२ वर्षीय सन्तबहादुर तामाङले श्रीमती जमुना तामाङको हत्या गरी करेसामा गाडेका हुन्।
प्रहरीका अनुसार ३१ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा शनिबार राति उनको शव घरको पछाडिपट्टि करेसामा पुरिएको अवस्थामा फेला परेको हो।

तामाङ गत भदौ २४ गते नख्खु कारागारबाट भागेर घर आएका थिए। उनी जबर्जस्तीकरणी उद्योगमा दोषी ठहर भई ३ वर्षे कैद सजाय भोगिरहेका थिए। कैद अवधि समाप्त हुन एक महिना मात्र बाँकी रहेको प्रहरीको भनाइ छ।
स्थानीयका अनुसार तामाङ र उनकी श्रीमतीबीच केही दिनदेखि विवाद भइरहेका थिए। श्रीमतीको हत्या गरेर फरार भएका तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मृतक जमुनाका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्। तामाङ नख्खु कारागारबाट भाग्दा रवि लामिछाने पनि सँगै रहेका थिए।
प्रहरी घटनास्थलमा पुगेको छ भने थप अनुसन्धान भइरहेको जनाइएको छ।
