काभ्रे
काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेका कारण बाढी पूर्वानुमान महाशाखाले २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक बाँकी सबै प्रदेशमा वर्षा भइरहेको छ। उनले कोसीका एक ÷दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएकी छिन् ।
मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बदली रहने र कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै, केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि प्राविधिक पूर्वानुमानमा उल्लेख छ।
आज राति भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा वर्षा हुने र बाँकी प्रदेशमा पनि बदली रहने महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवनमा बाढीको अति उच्च जोखिम देखिएको भन्दै रेड अलर्ट जारी गरेको छ।
त्यस्तै, इलाम, झापा, मोरङ, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, गोरखा, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा पनि उच्च जोखिम देखिएको छ। गण्डकी र लुम्बिनीका धेरै जिल्लामा आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको चेतावनी दिइएको छ।
निरन्तर वर्षापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ देखि २० गतेसम्म काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने र लामो दूरीका सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको छ। अत्यन्त जरुरी सूचना जारी गर्दै प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका बस र सवारीसाधन आवागमन तीन दिनका लागि बन्द गरिएको उल्लेख छ ।
