
सुरेन्द्र बञ्जारा
के आज पनि त्यस्ता नेताहरू बाँकी छन्, जो साँचो अर्थमा पदभन्दा पार्टीलाई बढी माया गर्छन्? यदि छन् भने त्यसको प्रमाण नियमित महाधिवेशनबाट दिन सकिन्छ। वडा, नगर, जिल्ला र केन्द्रीय तहसम्म नयाँ नेतृत्व ल्याएर मात्र पार्टी पुनर्जीवित हुन्छ। रुपान्तरण केन्द्रीय समिति फेरेर मात्र सम्भव हुँदैन, त्यसका लागि सोच, दृष्टि र आत्मसमर्पणको पुनर्जागरण आवश्यक छ।
युवाहरूले अहिले जुन आन्दोलन उठाएका छन्, त्यो केवल असन्तोषको परिणाम होइन, यो परिवर्तनको चाहना हो। युवाहरू पार्टीभित्र अवसर, नेतृत्व र जवाफदेही संरचनाको माग गर्दै छन्। यदि पार्टी समयमै महाधिवेशन गर्न असमर्थ हुन्छ भने, हरेक तहका नेताहरूले सामूहिक रूपमा पदत्याग गरेर सच्चा कार्यकर्ताको रूपमा सक्रिय रहनु पर्छ। पार्टीलाई माया गर्न सभापति वा केन्द्रीय सदस्य हुन आवश्यक छैन, माया त प्रत्येक समर्पित कार्यकर्ताको मुटुमा हुन्छ।
आजको ठूलो चुनौती पदको लोभ र गुटबन्दी हो। यस्तो स्वार्थी संस्कारले पार्टीको गौरवशाली इतिहास र जनताको विश्वास दुवै कमजोर बनाउँदै लगेको छ। अहिले आवश्यक छ कांग्रेसलाई एकढिक्का बनाएर देशको कठिन अवस्थाको सामना गर्ने सामूहिक संकल्प। अहिलेको समय विशेष महाधिवेशन वा गुटको राजनीति गर्ने समय होइन, यो आत्मसमीक्षा र दिशा निर्धारणको समय हो।
विगतका अग्रज नेताहरूले नेपाली कांग्रेसलाई आफ्नो रगत र पसिनाले उभ्याएका हुन्। बी.पी. कोइरालाको दर्शन “गाउँका जनताको भलो भयो भने देशकै भलो हुन्छ” आज पनि उत्तिकै सान्दर्भिक छ। अब युवाले त्यही बाटो सम्हाल्नुपर्ने बेला आएको छ।
अग्रज नेताहरूलाई सम्मानका साथ विदा र युवालाई जिम्मेवारीका साथ अवसर दिनु पार्टीको नैतिक कर्तव्य हो। जुन पुस्ताले आफ्नो इतिहास बिर्सन्छ, त्यो पुस्ता सफल हुन सक्दैन। त्यसैले अब पार्टी र चुनाव दुबैमा ५० वर्ष मुनिका युवाहरूलाई आधा हिस्साको अवसर दिनुपर्ने समय आएको छ।
कांग्रेसको बल गाउँमा छ, जनतासँगको सम्बन्धमा छ। त्यसैले हरेक पार्टी समिति — वडा, नगर, जिल्ला वा प्रदेश — जनतासँग नजिक हुनुपर्छ। आपसी सहयोग, सद्भाव र भाइचाराको संस्कार पार्टीको जीवनशक्ति हो। पार्टीले अब केवल राजनीतिक प्रतिस्पर्धामा सीमित नहुँदै समाजमा सकारात्मक सोच, सहकार्य र जिम्मेवारीको संस्कृति फैलाउने काम गर्नुपर्छ।
देशको अहिलेको ठूलो समस्या रोजगारी र आत्मनिर्भरता हो। लाखौं युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्, गाउँहरू खाली हुँदै गएका छन्। यदि केन्द्रदेखि स्थानीय सरकारसम्म दृढ इच्छाशक्ति र स्पष्ट नीति बने भने हाइड्रोपावर, पर्यटन, कृषि, जडिबुटी र साना उद्योगमा फड्को मार्दै देश आत्मनिर्भर बन्न सक्छ। त्यसका लागि मिहिनेत, धैर्यता र दीर्घदृष्टिको आवश्यकता छ, जुन अहिलेको छिटो परिणाम खोज्ने प्रवृत्तिले विस्थापित गरेको छ।
कांग्रेसले देश र समाजको बीचमा रहेको दूरी घटाउनुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका सवालमा ठोस नीति र व्यवहारिक काम गरेर मात्र जनताको मन जित्न सकिन्छ। देशमा आत्मनिर्भरता र श्रमको सम्मान पुनर्स्थापना गर्न सकियो भने, हामी लाखौं युवालाई विदेश जानबाट रोक्न सक्छौं र देशलाई उत्पादन र अवसरको केन्द्र बनाउन सक्छौं।
अन्ततः, नेपाली कांग्रेस केवल राजनीतिक पार्टी होइन, यो एउटा संस्कार हो, विचार हो, र विश्वास हो — जहाँ स्वतन्त्रता, जनसेवा र आत्मसम्मानको भावना बस्छ। आज आवश्यक छ गलतलाई गलत भन्न सक्ने साहस र सही बाटोमा उभिन सक्ने दृढता। गर्वका साथ भन्न सकियोस् — “म नेपाली कांग्रेसको कार्यकर्ता हुँ, नेता हुँ, समाजको अभिन्न अङ्ग हुँ।”
