नारायण सापकोटा

पनौती
चिसो मौसममा शिक्षक तथा विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पनौती नगरपालिका–६ स्थित गोरखनाथ आधारभूत विद्यालयलाई दुई सेट वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ।
सार्वजनिक सरोकार शाखा, पनौतीको आयोजनामा तथा लड्केश्वर प्लाष्टिक प्रा.लि.को सहयोगमा उक्त दुई सेट वाटर डिस्पेन्सर विद्यालयलाई प्रदान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै सार्वजनिक सरोकार शाखाकी अध्यक्ष सरस्वती कणेलले आफ्नो जीवनको अधिकांश समय शैक्षिक क्षेत्रमा बितेको उल्लेख गर्दै सामुदायिक विद्यालयको मर्म बुझेर सहयोगी हात फैलाइएको बताइन् । उनले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै वाटर डिस्पेन्सर उपलब्ध गराइएको जानकारी गराइन । पनौती नगरभित्रका अन्य विद्यालयहरूमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको उनले उल्लेख गरिन् ।
संस्थाले पनौतीका बालआदर्श आधारभूत विद्यालय वडा नं १० बलोद्वारा मा.वि वडा नं ४ मा समेत सहयोग उपलब्ध गराएको छ ।
कणेल पुण्य माध्यमिक विद्यालय पनौतीकी पूर्व प्रधानाध्यापक हुन् । सेवा निवृत्त शिक्षक एवं शिक्षासेवी कणेलले सहयोगी भावनालाई निरन्तरता दिँदै आफ्नो पेन्सनको समेत केही प्रतिशत यस्ता सामाजिक कार्यमा लगानी गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रममा सहयोगी संस्था लड्केश्वर प्लाष्टिक प्रा.लिका प्रोप्राइटर शिवप्रसाद तिमल्सिनाले सार्वजनिक सरोकार शाखाको अनुरोधमा सामग्री उपलब्ध गराइएको जानकारी गराउँदै यसअघि पनि विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरिएको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्ने वचन व्यक्त गरे ।
हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा तथा विद्यालयका प्रधानाध्यापक ईश्वर भण्डारीले सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।
शिक्षक बसुन्धरा आचार्यको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी धर्मराज खड्का, हरिकृष्ण थापा तथा नवराज आचार्यले समेत विद्यालयलाई आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
