
विदेशी भूमिमा पसिना बगाइरहँदा पनि आफ्नो जन्मभूमिको पीडा, अभाव र आवश्यकता कहिल्यै बिर्सन नसक्ने थोरै व्यक्तिहरूमध्ये पर्छन् श्याम सार्की मगराती। रोजगारीको सिलसिलामा यतिखेर उनी देश बाहिर रहे पनि उनको मन, सोच र कर्म भने निरन्तर पनौती र आसपासका कमजोर वर्गसँग गाँसिएको छ।
काभ्रेपलाञ्चोकको पनौतीलाई केन्द्र बनाएर स्थापित श्याम र फुलमाया फाउन्डेसन तथा श्याम–फुलमाया हस्तकला उद्योग आज केवल एउटा संस्था वा व्यवसाय मात्र होइन, मानवीय सेवाको जीवित उदाहरण बनेको छ। “मानव सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने यस अभियानले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र स्थानीय रोजगारीका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पु¥याउने प्रयास होस् या आर्थिक अभावका कारण उपचार नपाएका बिरामीका लागि सहयोग, प्राकृतिक विपद्का बेला पीडितका आँसु पुछ्ने काम होस् वा सीप र हस्तकलामार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने पहल फाउन्डेसनका गतिविधिहरू मौन तर गहिरा छन्। यी कामहरू कुनै प्रचारका लागि होइनन्, मानवताको कर्तव्य बोधबाट प्रेरित छन्।
विशेषतः श्याम–फुलमाया हस्तकला उद्योगले परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै स्थानीय युवायुवती र महिलाहरूलाई रोजगारीको अवसर प्रदान गरिरहेको छ। यसले रोजगारीका लागि विदेशिन बाध्यताको विकल्प खोज्ने आशा जगाएको छ, जहाँ श्रमको सम्मान र स्वदेशमै सम्भावनाको ढोका खोल्ने प्रयास भइरहेको छ । विदेशमा रहेर पनि आफ्नै माटोको सुगन्ध बोकेर समाज परिवर्तनको यात्रा निरन्तर अगाडि बढाइरहेका श्याम सार्की मगरातीको योगदानले एक कुरा स्पष्ट सन्देश दिन्छ सेवा गर्न पद, शक्ति वा उपस्थितिमात्र आवश्यक हुँदैन; आवश्यक पर्छ त केवल इमानदार मन र प्रतिबद्धता।
यही पृष्ठभूमिमा, श्याम र फुलमाया फाउन्डेसनले हालसम्म गरेका परोपकारी कार्यहरू, भोगेका चुनौतीहरू र भविष्यका योजनाहरूका बारेमा सञ्चालकसँग सहकर्मी राजन दाहालले गर्नुभएको कुराकानीको सम्पादित अंश
श्याम र फुलमाया फाउन्डेसनको स्थापनाको मुख्य सोच कसरी आयो? “आफू मेटिएर भए पनि अरूलाई सुख दिनु“ भन्ने मूल मन्त्रलाई यहाँहरूले कसरी परिभाषित गर्नुहुन्छ?
वास्तवमा खुसी भन्ने कुरा बाँड्दा बढ्ने र लुकाउँदा घट्ने वस्तु हो। हामीले समाजमा धेरै यस्ता मानिसहरू देख्यौँ, जोसँग अपार सम्भावना छ तर अवसरको अभाव छ। “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत विलासिता र स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो। हामीले सोचेका छौँ कि यदि हाम्रो सानो त्यागले कसैको जीवनमा उज्यालो आउँछ भने त्यो नै हाम्रो जीवनको सार्थकता हो। फाउन्डेसनको जन्म नै यही निस्वार्थ भावनाबाट भएको हो। हामीले आफ्नो गाँस काटेर भए पनि असहाय र विपन्न वर्गलाई सहयोग गर्दा प्राप्त हुने आत्मसन्तुष्टिलाई नै वास्तविक सुख मानेका छौँ।
फाउन्डेसनले औपचारिक दर्ता हुनुभन्दा अगाडि (२०२०–२०२४) नै ठूलो मात्रामा आर्थिक र सामाजिक सहयोग गरेको देखिन्छ। ती सुरुवाती दिनका केही महत्त्वपूर्ण कार्यहरूबारे विस्तृतमा बताइदिनुहुन्छ कि?
सेवा गर्न सरकारी दर्ताको प्रमाणपत्र मात्र पर्खिनु पर्दैन, सफा नियत र बलियो इच्छाशक्ति भए पुग्छ भन्ने हाम्रो अनुभव छ। सन् २०२० देखि २०२४ सम्मको अवधि हाम्रो लागि सेवाको जग बसाल्ने समय थियो। कोभिडको भयावह समयमा १७ विपन्न परिवारलाई राहत वितरणदेखि सुरु भएको हाम्रो यात्रा, क्यान्सर र मृगौला रोगीहरूको उपचारसम्म पुग्यो।
यस अवधिमा हामीले व्यक्तिगत र काभ्रे अमेरिका कल्याणकारी समाज जस्ता संस्थाहरूसँग मिलेर लाखौँ रुपैयाँ सहयोग हस्तान्तरण ग¥यौँ। आगलागी पीडित कान्छा खत्री, क्यान्सर रोगी भक्ती सापकोटा र लक्ष्मी श्रेष्ठ, अनि पक्षघातबाट पीडित कुमार अछामी जस्ता व्यक्तिहरूका लागि गरिएको सहयोगले हामीलाई यो क्षेत्रमा थप लाग्ने प्रेरणा दियो। हामीले जिल्लाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य, शिक्षा र मानवीय संकटमा मल्हम लगाउने प्रयास ग¥यौँ, जुन आज पनि निरन्तर छ।
“श्याम फुलुमाया हस्तकला उद्योग“ एउटा व्यावसायिक संस्था मात्र नभई सामाजिक अभियान पनि भन्नुभएको छ। यस उद्योगले स्थानीय उत्पादन, कच्चा पदार्थ र रोजगारीमा कसरी योगदान दिइरहेको छ?
हाम्रो हस्तकला उद्योग केवल एउटा व्यापारिक एकाइ होइन, यो स्थानीय सीप र श्रमको सम्मान गर्ने थलो हो। हाम्रो प्रमुख उद्देश्य नै विपन्न वर्ग र विशेष गरी महिलाहरूलाई सीपमूलक तालिम दिएर उनीहरूलाई आत्मनिर्भर बनाउनु हो। हामीले आफ्नै उद्योगमार्फत स्थानीय स्रोत र कच्चा पदार्थको प्रयोग गरी दैनिक आवश्यक पर्ने सर्ट, पेन्ट, जुत्ता, ब्यागदेखि हाम्रा मौलिक दौरा–सुरुवाल र टोपीहरू उत्पादन गरिरहेका छौँ।
यसले गर्दा एकातिर स्थानीय कच्चा पदार्थले बजार पाएको छ भने अर्कोतिर आयातित सामग्रीमाथिको निर्भरता हटेको छ। हामीले उत्पादन गरेका सामग्रीहरूलाई सुरुमा स्थानीय बजारमा खपत गराउने र बिस्तारै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ गरी निर्यात गर्ने लक्ष्य राखेका छौँ। जति धेरै स्थानीय हस्तकला बिक्री हुन्छ, त्यति नै यहाँका स्थानीय श्रम र सीपलाई बल पुग्छ।
उद्योगबाट हुने आम्दानीलाई फाउन्डेसनले कसरी प्रयोग गर्छ? यो मोडलले समुदायलाई कसरी सशक्तीकरण गरिरहेको छ?
हाम्रो उद्योग सञ्चालनको मूल मन्त्र नै “नाफा होइन, सेवा“ हो। उद्योगबाट प्राप्त हुने मुनाफा व्यक्तिगत प्रयोजनमा जाँदैन। यो रकम पुनः समाजमै फर्काइन्छ। विशेषगरी अभिभावकविहीन विद्यार्थीहरू, आर्थिक कठिनाइमा रहेका परिवारहरू र पढ्ने चाहना भए पनि साधन नभएका बालबालिकाहरूको शिक्षामा यो पैसा खर्च गरिन्छ।
हाम्रो उद्योगमा बनेका प्रत्येक वस्तु केवल एउटा सामग्री मात्र होइनन्, ती एउटा अवसर र आशाका प्रतीक हुन्। ग्राहकले हाम्रो स्टोरबाट एउटा झोला वा लुगा किन्दा उहाँहरूले अप्रत्यक्ष रूपमा कुनै गरिब विद्यार्थीको भविष्य निर्माणमा योगदान दिइरहनुभएको हुन्छ। यसरी व्यापारलाई समाजसेवाको माध्यम बनाउँदा समुदायका पिछडिएका वर्गहरू बिस्तारै सशक्तीकरण हुँदै आएका छन्।
फाउन्डेसनले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा पनि ठूलो लगानी गरेको छ। यसको महत्त्वबारे बताइदिनुहोस् न।
संस्कृति र सम्पदा हाम्रो पहिचान हुन्। भौतिक विकाससँगै आध्यात्मिक चेतना पनि आवश्यक छ। त्यसैले हामीले पनौतीको गोरखनाथ मन्दिरमा ९ फिटको पञ्चधातु गणेश मूर्ति स्थापना, गुरुकुल भवन पुनर्निर्माण, र अन्य विभिन्न मठ–मन्दिरहरूको विकासमा ठूलो लगानी गरेका छौँ। कालीदेवी, लक्ष्मी नारायण र पाथीभरा जस्ता मन्दिरहरूको संरक्षणमा सहभागी हुनु हाम्रो सामाजिक उत्तरदायित्व हो। हाम्रा मन्दिर र गुम्बाहरूले समाजमा एकता र शान्तिको सन्देश प्रवाह गर्छन्, त्यसैले यिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने हामीलाई लाग्छ।
बाजुराको हिमाली गाउँपालिकास्थित श्री ठूलाकोट माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि यहाँहरूले विशेष सहयोगको थालनी गर्नुभएको छ। यो विकट क्षेत्रसम्म पुग्ने प्रेरणा कसरी मिल्यो?
सेवाको कुनै भूगोल हुँदैन। बाजुराको विकट हिमाली क्षेत्रका बालबालिकाहरू न्यानो कपडा र शैक्षिक सामग्रीको अभावमा कठिन जीवन बिताइरहेको खबरले हाम्रो मन पगाल्यो। विद्यालय सञ्चालक चन्द्रवीर बुढा र अभियन्ता नारायण दत्त उपाध्याय ज्यूको समन्वयमा हामीले १८२ जना विद्यार्थीका लागि न्यानो ट्रयाकसुट र स्कुल ब्याग निर्माणको काम सुरु गरिसकेका छौँ।
यो कार्यमा जय महांकाल युवा समूह र काठमाडौँ नेपाल युवा समूहसँगको सहकार्यले हामीलाई थप ऊर्जा दिएको छ। काभ्रेमा बसेर बाजुराका बाबुनानीहरूको आँसु पुछ्न पाउनु हाम्रो लागि ठूलो अहोभाग्य हो। यसले नेपाली–नेपाली बीचको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउँछ भन्ने हाम्रो विश्वास छ।
२०८१ सालको भीषण बाढी र पहिरोका बेला फाउन्डेसनले आवास पुनर्निर्माणमा कसरी भूमिका खेल्यो? पीडितहरूको अवस्था कस्तो थियो?
त्यो विपद्को समयमा धेरैले आफ्नो सर्वस्व गुमाएका थिए। फाउन्डेसनले तत्काल राहतका सामग्री मात्र वितरण गरेन, बरु दीर्घकालीन समाधानका लागि आवास पुनर्निर्माणमा पनि हात हाल्यो। पनौतीका चम्खर, दलिनचोक, डाँडागाउँ र रोशी क्षेत्रमा बाढी तथा आगलागीबाट पीडित परिवारहरूका लागि घर निर्माणमा हामीले सक्रिय सहयोग ग¥यौँ। मानिसहरूका लागि एउटा सुरक्षित घर हुनु भनेको उनीहरूको आत्मसम्मान पुनःस्थापित हुनु हो। हामीले पीडितहरूको घाउमा मल्हम लगाउने सानो प्रयास मात्र गरेका हौँ, जसमा स्थानीय समुदाय र दाताहरूको पनि उत्तिकै साथ रह्यो।
यस फाउन्डेसन र उद्योगलाई चलायमान बनाउन पर्दा पछाडि बसेर काम गर्ने टिम र व्यवस्थापन पक्षबारे केही भनिदिनुहोस् न।
कुनै पनि ठूलो अभियान एक्लो प्रयासले सफल हुँदैन। हाम्रो टिममा असाध्यै समर्पित व्यक्तिहरू हुनुहुन्छ। अध्यक्ष शोभा रानामगर ज्यूले समग्र नेतृत्व गरिरहनुभएको छ भने डिजाइन मास्टर जीवन दमै परियार ज्यूले उत्पादनको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मेहेनत गरिरहनुभएको छ। सुस्मिता लगायतका सदस्यहरूले उद्योग र फाउन्डेसनका गतिविधिहरूलाई जनस्तरसम्म पु¥याउन अहोरात्र खटिनुभएको छ। यो टिमको एकता नै हाम्रो मुख्य शक्ति हो।
अन्तमा, यहाँहरूको आगामी लक्ष्य के छ? समाजका अन्य मनकारी व्यक्ति र ग्राहकहरूलाई यहाँहरू के सन्देश दिन चाहनुहुन्छ?
हाम्रो आगामी लक्ष्य भनेको स्थानीय हस्तकलालाई ब्रान्डिङ गरेर नेपालका ७७ वटै जिल्लामा पु¥याउनु र धेरैभन्दा धेरै युवालाई स्वरोजगार बनाउनु हो। हामी समाजका हरेक वर्गलाई आग्रह गर्छौँ जब तपाईँले स्थानीय उत्पादन रोज्नुहुन्छ, तब तपाईँले एउटा मानवीय सेवाको अभियानलाई सहयोग गरिरहनुभएको हुन्छ।
पनौतीको बसपार्क र ठाडो बाटोमा हाम्रो स्टोर र कारखाना छ। अर्डर अनुसारका सामान, होलसेल तथा खुद्रा व्यापारका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँको एउटा खरिदले कुनै गरिब बच्चाको विद्यालयको शुल्क तिरिन्छ। आउनुहोस्, यो पवित्र अभियानमा जोडिएर समाज रूपान्तरणको साक्षी बनौँ।
