नेपालका समृद्ध सांस्कृतिक धरोहरहरू मध्ये एक, बनेपाको चण्डेश्वरी जात्रा केवल धार्मिक पर्व मात्र होइन, यो एक ऐतिहासिक, सांस्कृतिक र सामाजिक उत्सव हो । प्रत्येक वर्ष वैशाख पूर्णिमाको अवसर पारेर तीन दिनसम्म धूमधामका साथ मनाइने यो जात्रा, बनेपाको आत्मा नै हो जस्तो लाग्छ ।
चण्डेश्वरीको आरम्भ
चण्डेश्वरी जात्राको उत्पत्ति एक अद्भुत पौराणिक कथा सँग जोडिएको छ। सत्ययुगमा, चण्डासुर नामक दैत्यले भगवान महादेवको घोर तपस्या गरी अद्वितीय शक्ति प्राप्त गरेपछि देवगणमाथि आक्रमण शुरु गर्छ। देवगणले भगवतीको आराधना गर्दा देवी एक चम्पक वृक्षको फेदबाट प्रकट भइ चण्डासुरको वध गर्छिन्। दैत्यले मृत्युअघि महादेव स्थापना गर्न चाहन्छ, र त्यसैबेला चण्डेश्वर महादेवको उत्पत्ति हुन्छ।
देवी चण्डेश्वरीको यो रूपलाई उग्रता, करुणा र विजयको प्रतीक मानिन्छ। बनेपाको चण्डेश्वरी मन्दिर, जहाँ यो जात्रा सम्पन्न हुन्छ, आज पनि उक्त चम्पक वृक्षको ठूटोलाई पूजा गरिन्छ — यो धार्मिक किम्बदन्तीलाई मूर्तरूप दिने जीउँदो प्रमाण हो।
चण्डेश्वरी जात्राको विशेषता
बनेपा काभ्रेपलाञ्चोकको एक पुरानो बस्ती हो, जहाँ संस्कृति र धार्मिकता जीवनशैलीको हिस्सा बनेको छ। यहाँको मुख्य अधिष्ठात्री देवी चण्डेश्वरी हुन्, जसको जात्रा वैशाख पूर्णिमाको दिनदेखि सुरु भएर तीन दिनसम्म मनाइन्छ।
जात्राको समयमा धार्मिकता, संगीत, कलात्मकता र सामाजिक एकता सँगै देखिन्छ। यो पर्वमा न केवल बनेपावासीहरू, तर काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लाबाट पनि हजारौं भक्तजन सहभागी हुन्छन्।
पहिलो दिनः
जात्रा वैशाख पूर्णिमाको अघिल्लो रातबाट सुरु हुन्छ। स्वधा टोलबाट सुरु हुने चिराग जात्रामा, बनेपावासीहरू विशेष चिराग बालेर लामबद्ध रूपमा चण्डेश्वरी मन्दिरतर्फ लाग्छन्। चिराग बाल्ने स्थानमा अग्निज्वाला नामक राक्षसको प्रतीकस्वरूप ठूलो आगो बालिन्छ, र त्यहाँ छुन नहुने धार्मिक मान्यता छ।
त्यही रात, १२ वटा बोका बलि चढाइन्छन्, जसको मासु भोलिपल्टका लागि तयारी स्वरूप राखिन्छ। बली चढाइने यो संस्कार, चण्डेश्वरीको उग्र रूप र विजय उत्सवको प्रतीक मानिन्छ।
दोस्रो दिनः
बैशाख पूर्णिमाको दिनलाई चास पूर्णिमा भनिन्छ। यही दिन, सानो वा ठूलो खट (रथ) प्रयोग गरी देवीको नगर परिक्रमा गरिन्छ। खट स्वधा टोलबाट सुरु भई गणेशस्थान, घोगेचौर हुँदै चण्डेश्वरी मन्दिरसम्म पु¥याइन्छ।
खट जात्रामा नेवारी परम्पराका बाजा, धिमे, पञ्चे, नेखिऊ, छुस्याहा आदि बजाइन्छ। जात्राको पूर्वसन्ध्यामा काटिएको बोकाको मासु पकाएर चोक्टाको रूपमा प्रसाद बाँडिन्छ — घरको छतबाट सिउले फालिएको मासु पाउनु ‘भाग्यमानी’ हुनुको संकेत हो भन्ने जनविश्वास रहेको छ।
तेस्रो दिनः
जात्राको अन्तिम दिन खट नगरका विभिन्न टोलमा लगिन्छ, देवीको गोप्य पूजा गरी पुनः मन्दिरमा ल्याइन्छ। विभिन्न स्थानमा भक्तजनहरूलाई फलफूल, प्रसाद बाँडिन्छ। कन्या बालिकाहरू र ब्राह्मणहरूले देवीलाई लशकुशले स्वागत गर्छन्। जात्राको यो चरण सामाजिक समावेशिता, महिला सहभागिता र धार्मिक समर्पणको अद्भुत संगम हो।
केवल देवी नभई दृष्टिदेवी
बनेपाका स्थानीयहरूका लागि चण्डेश्वरी मात्र एक देवी नभई, दृष्टिदेवी हुन् । जसले संकटको समयमा आश्रय दिन्छिन्, विजयको बाटो देखाउँछिन्। उनको पूजा गर्दा पहिला चण्डेश्वर महादेवको पूजा गरिन्छ किनभने ती शिवलिङ्ग पहिला स्थापना भएको जनविश्वास छ।