सरोज सापकोटा
बनेपा/नेपाल एक कृषिप्रधान देश हो । यहाँको दुई तिहाइभन्दा बढी जनसंख्या खेतीपातीमा निर्भर छ । तर, आज तिनै कृषकहरूको जीवन असुरक्षित र कठिन बन्दै गएको छ । कहिले खडेरी, कहिले बाढी, कहिले कीरा र रोगको प्रकोपले थिचेका किसानहरू पछिल्लो समय समस्यामा परेका छन् । दिन दिनै गहिरो सङ्कट थपिएको छ तर पनि स्थानिय सरकारहरु मौन नै रहेको छन् । दिन प्रतिदिन जंगली रातो बाँदर र बँदेलको आतंक बाट किसानहरु आजित भएका हुन् । जिल्लाको रोशी गाउँपालिका,महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका साथै कोशीपारीका बिभिन्न पालिकाका किसानहरु समस्यामा परेका हुन् । यो समस्या सामान्य नभएर दिनप्रतिदिन तीव्र बन्दै गएको भयावह संकट हो जसले किसानको बीऊदेखि भान्सासम्म सबैतिर असर पारेको स्थानियहरुको गुनासो रहेको छ ।

महाभारत गाउँपालिकाका प्रेम बहादुर मगरले गुनासो गर्दै भने, बाँदरको झुन्ड बिहान खेतमा पस्छ, साँझसम्म महिनौको पसिना सखाप हुन्छ । रातको अन्धकारमा बँदेलको बथान खेतमा पसेपछि किसान निदाउन सक्दैनन् । उसले मलजल गरेको बाली, उसले माया गरेर हुर्काएको, उसले आकाश हेरेर आशा गरेको खाद्यान्न एकै रातमा नष्ट पार्ने गरेको छ । अन्नको नोक्सानीमात्र होइन यो त किसानको सपना, उसको मेहनत र किसानको भविष्यमाथिको आघात पनि भएको अगुवा किसानहरु बताउँछन् ।

विशेषगरी पहाडी र तराईका जंगलसँग जोडिएका बस्तीहरूमा समस्या झनै भयावह छ । यसको मूख्य समस्याको रुपमा महाभारत र खानीखोला गाउँपालिकाका किसानहरुले झेलेका छन् । बर्ष दिनभरी खानेमकै,धानबाली कोदो, तरकारी, फलफूल सबै बाली बाँदर र बँदेलको सिकार बनिरहेका छन् । तर पनि स्थानिय सरकार भने मुक दर्शक भएर बसेको छ । कतिपय ठाउँमा त किसानहरू खेतमा कामभन्दा बढी बाँदर लखेट्न खटिरहेका हुन्छन् ।
किसानहरुको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको हुन्छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । किसानहरुका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् बेलाबेला उनीहरु थाल बजाउँदै चिच्याउछन् त्यसले कसरी बाँदर भाग्छ र ? किसानहरु सँग अहिले थाल र लौरो त साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला गर्यो बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एक छिनमा ५० र ६० वटा बाँदरको समूह आएर मकै एक छिनमा सखाप पार्छ । एक किसानले गुनासो गरे ।
जब खेतमा अन्न हुँदैन तब चुलो निभ्छ । जब किसानको भरोसा मर्छ तब राष्ट्रको मेरुदण्ड भाँचिन्छ । यसैले, अब घोषणाले पुग्दैन, व्यवहारमा देखिने काम गर्नुपर्छ । किसानको पीडा सुन्नेमात्र होइन, त्यसको समाधान गर्ने साहस सरकारले लिनुपर्दछ । जनताको भान्सा र बाँच्ने आधार जोगाउने काम गर्नुपर्छ । ‘बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला पहिला त भाग्थे’, उनले भने, ‘अहिले त धपाउँदा पनि नटेर्ने र भगाउन पनि गाह्रो बनेको छ । दशदेखि पन्ध्र मिनेट मात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन् बाँदरले हैरान नै बनाएको स्थानियको गुनासो छ ।
मुख्य समस्या वन्यजन्तुको उपद्रोको होइन । उपद्रोलाई न्युनिकरण गर्न स्थानिय सरकारले के भुमिका खेल्छ त्यो हो । यो त मानव र प्रकृतिबीचको सन्तुलन बिग्रिएको संकेत पनि रहेको एक अगुवा किसानले बताए । पछिल्लो समय फडानी भएको जंगल साथै अव्यवस्थित विकास बाट नै समस्याहरु सबै तिर बढेको बताइन्छ । सडक, खानी र घर बनाएर वन्यजन्तुको बासस्थान खोस्यौँ अनि तिनीहरू पनि बाँच्न खेतमा पसेको पशुपंछी अधिकारकर्मीहरु बताउँछन् । वासस्थान मासिएपछि तिनले ठाउँ खोज्नुपर्ने बाध्यताका कारण पनि समस्या निम्तिएको गुनासो सबैको छ ।
वि.सं.२०७९ सालमा सरकारले रातो बाँदर र जंगली बँदेललाई ‘हानिकारक वन्यजन्तु’ घोषणा गर्यो । तर यति गम्भीर समस्याको समाधान घोषणामा मात्र सीमित हुनु अत्यन्त दुःखद विषय रहेको सरोकारवालाहरु बताउँछन् । आजसम्म घोषणामा लेखिएका बिभिन्न बिषयको बारेमा प्रभावकारी कार्यान्वयन हुन नसक्नुले किसानहरूको निराशा अझै गहिरिएको छ । सरकारले समस्या पहिचानमात्र गर्ने तर समाधानका लागि बजेट, योजना, नीति र समुदायसँगको सहकार्य सुनिश्चित गर्न नसक्ने हो भने त्यो घोषणा हावादारी कागजी गफ बन्न जाने निश्चित बनेको छ ।
यस विषयमा स्थानिय,प्रदेश र संघिय सरकार मौन बस्न नमिल्ने सरोकारवालाहरु बताउँछन् । किसानको आँसु टुलुटुलु नहेरोस् बरु समाधान खोजोस् एक स्थानियले भने । सरकारको पहिलो काम अब बाँदर र बँदेलका कारण भएको नोक्सानीको यथार्थ विवरण संकलन गर्नु हो । त्यसपछि पीडित किसानलाई सहायता र क्षतिपूर्ति दिने विशेष कार्यक्रम ल्याउनुपर्ने अगुवा किसानहरु बताउँछन् । राहतले मात्रै दीर्घकालिन समाधान सम्भव छैन । वैज्ञानिक अनुसन्धान गर्नुपर्ने भन्दै किसानहरु बेला बेलामा आन्दोलित भएका छन् । हामीले जनावरहरूको व्यवहार बुझ्न, तिनको आवागमनको कारण पत्ता लगाउन सक्नु पर्दछ । यसका लागि अल्ट्रासोनिक यन्त्र, जैविक नियन्त्रण प्रविधि, सौर्य(संवेदन यन्त्रहरू जस्ता आधुनिक प्रविधि प्रयोगमा ल्याउनुपनेह भनाई सरोकारवालाहरुको रहेको छ । यस कार्यमा समुदायको सहभागिता अनिवार्य हुने र समुदायले पनि कामहरु। अगाडी बढाउनु पर्ने भनाई सबैको रहेको छ । किसानहरुलाई कसरी बाली जोगाउने, कसरी बाँदर हटाउने र कसरी सँगै समाधान निर्माण गर्ने भनेर किसान, महिला, युवा समूहलाई तालिम दिइनुपर्ने भनाई अगुवा किसानहरुको छ । यस विषयमा गम्भीरतापूर्वक सोच्ने र समस्याको मूल जडमा प्रहार गर्ने बेला आएको छ ।हाम्रो इन्द्रावती साप्ताहिक बाट साभार
