बेथानचोक
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ महाँकाल चौर भुग्देउ स्थित चिहानडाँडामा यात्रुबाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पनौती बसपार्कबाट बेथानचोक–६, मेदाम्सु तर्फ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस बुधबार साँझ करिब ५ः४० बजे सडकबाट करिब ३० मिटर तल खस्दा उक्त दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।
दुर्घटनामा बनेपा नगरपालिका–९ निवासी ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको काभ्रे प्रहरी जानकारी दिएको छ । बसमा चालक, सहचालकसहित कुल सात जना यात्रारत थिए।
दुर्घटनामा बस चालक ४१ वर्षीय रामप्रसाद ढुङगाना घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ र उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल, बनेपा पठाइएको छ।
त्यसैगरी बनेपा–९ की ३२ वर्षीया संगीता आचार्य दाहिने खुट्टामा सामान्य चोटसहित घाइते भएकी छन् भने उनकी १ वर्षीया छोरी सरगम तिमल्सिनाको टाउकोको बायाँ भागमा सामान्य चोट लागेको छ ।
दुवैलाई प्रारम्भिक उपचारपछि धुलिखेल अस्पताल रिफर गरिएको छ। बसका सहचालक चेतबहादुर लामा तथा सवारीमा रहेकी १८ वर्षीया अञ्जना बोलाखे र कोपिला तिमल्सिना सकुशल रहेको समेत प्रहरीले जानकारी दिएको छ । दुर्घटना स्थल प्रहरी चौकी ढुङखर्कबाट करिब २० किलोमिटरको दूरीमा पर्छ।
k0d3cp