कोही नपुगेर गए
कोही पुगेरै गए,
कोही कहरले गए
कोही रहरले गए
आखिर देश छोडेरै गए ।
कुनै हालतमा देश छोड्दिन भन्ने
मेरै छिमेकी भाइ
अस्ति भर्खरै युरोप गए,
मसँगै पढाइरहेका
मेरा मित्रहरु
कोही कोरिया गए
कोही अमेरिका गए
पढेका पनि गए
नपढेका पनि गए
आखिर देश छोडेरै गए ।
कोही घरखेत लिलाम भएर गए
कोही भविष्यको सुरक्षा खोज्न गए
कोही डिभी परेर गए
कोही मेक्सिकोको पर्खाल नाघेर गए
आखिर देश छोडेरै गए ।
कोही भर्खरै जन्मेको शिशुलाई
आमाको काखमा छोडेरै गए
कोही घाटले पर्खिरहेका
बृद्ध आमा बाबाको
आशा र भरोसा टुटाएर गए
कोही पटपटी फुटिरहेका
आफ्नै बारीका कान्लाहरु नाघेर गए
आखिर देश छोडेरै गए ।
देशले लाखौँ खर्चेर
निर्माण गरेको जनशक्ति
सीप बोकेरै गए
पढ्न लेख्न नपाएर
भौतारिएका युवाहरु
उर्जा बोकेर गए
कोही खाडी गए
कोही यूरोप गए
आखिर देश छोडेरै गए ।
कोही भोकको रोटी सेक्न गए
कोही सपनाको बुट्टा भर्न गए
कोही कहरले गए
कोही रहरले गए
आखिर देश छोडेर गए ।
संसारलाई लोभ्याउन
सधैँ मुस्कान छर्ने हिमालहरु
संसारको प्यास मेट्न सक्ने
अनगिन्ती जलराशी
अथाह सम्भावनाले भरिएको
खनिजमाथिको जमिन
सुन्दर, शान्त र प्रेमिल भूमि
यी सबै सबै छोडेरै गए
अर्कैको भूमि सिँगार्न
आफ्नी आमाबाट टाढा भए
आखिर देश छोडेरै गए ।।