
राजधानीमा भदौ २३ गते देखिएको दृश्यले लोकतन्त्र प्रति गर्व गर्नेहरूलाई नै लज्जामा पारिदिएको छ। शान्तिपूर्ण प्रदर्शन गर्दै सुशासन, पारदर्शिता र अभिव्यक्तिको स्वतन्त्रता मागिरहेका ‘जेनजी’ पुस्ताका निहत्था युवामाथि सरकारले गोली वर्षायो । यो कुनै सामान्य घटना होइन, यो पुस्ताको भविष्यमाथि गरिएको योजनाबद्ध आक्रमणको रुपमा सर्वत्र चर्चा हुन थालेको छ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै चुलिएको असन्तोषलाई जतिसुकै सामान्यीकरण गर्ने प्रयास भए पनि सडकमा ढलेका युवा शरीरहरूले सरकारको असली अनुहार उघारिदिएका छन्। । युवाहरुको छाती र टाउकोमा लक्षित गोली प्रहारले केवल असंयमता होइन, यसलाई आतङ्ककै परिचायकका रुपमा लिन सकिन्छ ।
युवाहरूले बोलेको कुरा सरल थियो । भ्रष्टाचार अन्त्य होस, समान अवसर मिलोस, नेताका सन्तानलाई मात्रै राज्यका स्रोतमा भागीदार नबनाओस् तर यो सामान्य मागलाई पनि सरकारले घातक रूपमा बुझ्यो। परिणाम पानीको फोहोरा, अश्रुग्यासभन्दा टाढा गएर प्रत्यक्ष गोली प्रहार गर्नु नै यसको प्रमाण हो।
यस घटनापछि दर्जनौ आमा(बुबा)ले आफ्ना सन्तान गुमाए, साथीहरूले आफ्ना सहपाठी ढलेको दृष्यले झनै आक्रोस थप्यो । सम्पूर्ण राष्ट्रले भविष्यका आधारस्तम्भ युवाहरू रगताम्य सडकमा ढलेको तस्वीर देख्यो। यी सबै दृष्य र भावनात्मक पिडाले जेनजीप्रति सहानुभूति जगाउनु स्वाभाविक हो। तर, सोही क्षण सरकारले देखाएको निर्ममता प्रति आक्रोश उम्लिनु पनि कुनै नौलो विषय होइन ।
सरकार अहिले पनि दमनमै अडिएको छ। तर, इतिहासले प्रमाणित गरिसकेको छ दमनले असन्तुष्टि थामिँदैन, बरु विस्फोट हुन्छ, उग्ररुप लिन्छ । युवापुस्तामाथि गोली चलाएर शासन स्थिर राखिन्छ भन्ने सोच सरासर भ्रम हो। यस्ता कार्यले लोकतन्त्रको जग मात्रै होइन, सरकारको वैधानिकता नै कमजोर बनाउँछ।
प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म, सुरक्षा संयन्त्रदेखि सत्तासाझेदार दलसम्म सबै यो रक्तपातका प्रत्यक्ष जिम्मेवार छन्। राजीनामा र जवाफदेहिताबाट मात्र यो अपराधको प्रायश्चित सुरु हुन्छ। राज्यको स्रोत लुट्ने, आफ्ना सन्तानलाई विशेषाधिकार दिने, जनतालाई घिसार्ने प्रवृत्तिको अन्त्य नगरेसम्म आन्दोलनको स्वर शान्त हुनेछैन।
आजको आक्रोश केवल गोली चलाउने प्रहरीप्रतिको मात्र होइन, दशौँ वर्षदेखि देशलाई बन्दी बनाइरहेका राजनीतिक संस्कृति र नेतृत्वप्रतिको पनि हो। यही असन्तोषको प्रतिनिधि जेनजी हो जो अब करिअर र व्यक्तिगत जीवनभन्दा माथि उठेर देश को चिन्ता गर्दै सडकमा निस्किएको छ।
जेनजीमाथि सहानुभूति देखाउने यो क्षण सरकारमाथि कठोर प्रश्न सोध्ने घडीको रुपमा विकास भएको छ । के सत्तामा बस्नेहरूको जिम्मेवारी जनताको जीवन सुरक्षित राख्नु होइन? के अभिव्यक्ति स्वतन्त्रताको घाँटी निचोरेर लोकतन्त्र टिक्छ ? के सर्वसाधरण नागरिकले आवज उठाउन नपाएने नै हो ? अनि आन्दोलन नियन्त्रणको मुख्य अस्त्र छाती र टाउको ताकेर गोली वर्षाउनु नै हो ?
यदि सरकार र राजनीतिक दलहरूले अहिले पनि पाठ सिकेनन् भने, आजको आक्रोश भोलिको निर्णायक आन्दोलन बन्नेछ। युवाले मागेको नयाँ नेपाल कुनै भ्रम होइन, यही देशको अपरिहार्य भविष्य हो । लोकतन्त्र प्राप्तिमा सर्वसाधरण नागरिकको योगदान महत्वपूर्ण छ । लोकतान्त्रिक मान्यतालाई उपेक्षा गर्दै सर्वसाधरण प्रतिको वर्वरताले नागरिकमा रुष्टता बढने पक्का छ ।
